रौतहट,फागुनको तेश्रो साता बित्न लाग्दा पनि रौतहटको फतुवाविजयपुर पालिकाले चालु आर्थिक वर्षको बजेट अझै पनि पारित गर्न सकेको छैन ।कार्यपालिका सदस्यहरुबीच विद्यमान विवादका कारण नगरपालिकाले चालु आर्थिक वर्ष पूरा हुनलाग्दा पनि बजेट ल्याउन नसकेको हो ।लाल बकैया नदीमा नदीजन्य पदार्थ उत्खननको ठेक्कामा अनियमिता गरेको भन्दै नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख गोपाल राय यादवलाई विशेष अदालतले दोषी ठहर गरी तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना गरेपछि उनी गत वर्ष नै पदमुक्त भएका थिए । नदीजन्य पदार्थ उत्खननमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादव विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
नगर प्रमुख यादव पदमुक्त भएपछि उपप्रमुख अम्बेया खातुनले कार्यवहाक प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । तर नगरपालिकको कार्यपलिकामा निर्वाचित जनप्रतिनिधिहरुबीच देखिएको विवाद अन्त्य हुन नसकेपछि बजेट प्रभावित बनेको हो ।प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको प्रयासमा निर्धारित समयभन्दा ७ महिना ढिलो गरी गत फागुन ३ गते सातौं नगरसभा उद्घाटन गरिएको भएपनि अन्य प्रक्रिया पूरा गर्न नसकेपछि नगर सभा स्थगित बनेको र पालिकाले बजेट पारित गर्न नसकेको बताइएको छ ।असार १० गतेभित्र गरिसक्नुुपर्ने नगरसभा समयमा हुन नसक्दा नगरपालिकाको विकास निर्माणको काम ठप्प हुनुको साथै नगरभित्र कार्यरत झण्डै साढे तीन सय जना शिक्षक र कर्मचारीले अझैसम्म पनि मासिक तलब र भत्ता प्राप्त गर्न सकेका छैनन ।मधेस प्रदेशमा रौतहटको फतुवा विजयपुर नगरपालिका, सर्लाहीको हरिपुर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकाले अझैसम्म पनि बजेट ल्याउन सकेका छैनन ।
















