दुष्यन्त चौधरी

कलैया,सत्य तथ्यमा आधारित भएर समाचार लेख्न कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले पत्रकारहरुसंग आग्रह गर्नुभएको छ ।

उपमहानगरपालिकाका सभा हलमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलन बोल्दै मेयर साहले पत्रकारहरुलाई निडर भएर कलम चलाउन पनि सुझाव दिनुभयो । सत्य समाचार लेख्दा कुनै समस्या आएको खण्डमा आफूले पत्रकारहरुलाई सहयोग गर्ने उहाँको भनाइ थियो । ‘निडर भएर कलम चलाउनुहोस, मेयर साहले भन्नुभयो, कुनै समस्या आएका म सहयोग गर्न तयार छु ।’

केही संचारकर्मीहरूले संप्रेषण गरेको कलैयास्थित श्री ३ चन्द्र माध्यमिक विद्यालयको अनियमितता बारेको समाचारमा कुनै सत्यता नभएको पनि उहाँले सुनाउनुभयो । ‘समाचार प्रकाशित भएलगत्तै गोप्य रूपमा बुझेको थिएँ, मेयर साहले भन्नुभयो, तर अनियमितता भएको बारेमा कुनै तथ्य भेटिएन ।’ उहाँले पत्रकारहरुले पनि समाचार तयार पार्दा त्यसको सत्यता बारेमा विशेष ख्याल गर्नुपर्ने बताउनुभयो ।

विगतमा कलैया उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूले भागबन्डामा बजेट विनियोजन गरेकोले विकास निर्माण कार्य प्रभावकारी नभएको पनि नगर प्रमुख साहले सुनाउनुभयो । तर यसपटक आफूले आफ्नो भागमा एक पैसा पनि नराखेको दाबी गर्नुभयो । ‘अघिल्लो कार्यकालमा जनप्रतिनिधिहरूले चुनावताका मात्रै करिब २० करोड रूपैयाँ बराबरको कार्यादेश दिएको देखिन्छ, नगर प्रमुख साहले भन्नुभयो,त्यही पुराना योजनाहरूको बाँकी भुक्तानी गर्न आफूले अडान लिदा आफ्नो भागमा बजेट विनियोजन गर्न सकिएन ।’

त्यसैगरी कलैया उपमहानगरपालिकामा इन्धन खर्चमा व्यापक लापरबाही भएको देखियोको भन्दै नगर प्रमुख साहलेअहिले त्यसलाई पूर्णरूपमा सुधार गरिसकेको सुनाउनुभयो ।

अर्को प्रशङ्गमा उहाँले मानमत मटिअर्वा सडक खण्डको मुआब्जाबापतको फ्रिज भइसकेको अवस्थाको रकमलाई प्रमुख जिल्ला अधिकारीमार्फत जोगाउन सफल भएको पनि पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो ।

उहाँले पत्रकारले सत्यतथ्य समाचार लेखिदिएकै कारणले आजको योे हैसितमा पुगेको पनि उहाँले बताउनुभयो । ‘आज जुन हैसियतमा छु, त्यो पत्रकारकै कारणले हो । पत्रकारले सत्यतथ्य समाचार नलेखिदिएको भए शायद मेरो मृत्यु भइसकेको हुन्थ्यो ।’ नगर प्रमुख साहले विगतको घटना सम्झिदै भन्नुभयो ।

त्यसैगरी बाराका पत्रकारहरूबीच आपसी द्वन्द देखिएकाले एकतावद्ध भएर अघि बढन पनि उहाँले आग्रह गर्नुभयो । एकजुट भएर लेख्दा त्यो समाचारको प्रभावनै अर्कौ पर्ने उहाँको भनाइ छ।

पत्रकार सम्मेलनमा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा गरेका कार्यहरूको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here