काठमाडौं । डाँका चोरी मुद्दामा सात वर्ष कैद सजाय भुक्तान गरेर छुटेका पूर्वसशस्त्र प्रहरी जवानसहित तीन जनालाई प्रहरीले ठूलो परिमाणको खैरो हेरोइनसहित पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले बिहीबार काठमाडौं र भक्तपुरबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका–५ का ३७ वर्षीय युवराज भण्डारी, सप्तरीको राजविराज नगरपालिका–३ का ३३ वर्षीय कौशलकुमार राय र धनुषाको नगराइन नगरपालिका–५ का गोपाल साह रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट १३२ ग्राम ११० मिलिग्राम खैरो हेरोइन, २ लाख ५० हजार रुपैयाँ नगद र एक थान डिजिटल तराजु बरामद गरेको छ।

ब्युरोका प्रहरी उपरीक्षक दुर्गा रेग्मीका अनुसार सुरुमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित शिव मन्दिर नजिकबाट युवराज भण्डारी पक्राउ परेका थिए। उनको डेरा कोठामा खानतलासी गर्दा ३५ ग्राम ४६० मिलिग्राम खैरो हेरोइन र २ लाख ५० हजार रुपैयाँ नगद फेला परेको थियो।

भण्डारीको बयानका आधारमा प्रहरीले भक्तपुरबाट गोपाल साह र कौशलकुमार रायलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट थप ९६ ग्राम ६५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

पूर्वसशस्त्र प्रहरी जवान भण्डारी यसअघि २०७६ भदौ १९ गते डाँका चोरी मुद्दामा पक्राउ परेका थिए। उक्त मुद्दामा सात वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना भुक्तान गरेपछि उनी २०८३ भदौ २४ गते रिहा भएका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार जेलबाट छुटेलगत्तै भण्डारी लागुऔषध कारोबारमा संलग्न भएको खुलेको छ। उनलाई लागुऔषध उपलब्ध गराउने व्यक्ति नख्खु कारागारमा कैद भुक्तानका क्रममा चिनजान भएका एक भारतीय नागरिक रहेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

ती भारतीय नागरिक जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते कारागारबाट फरार भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फरार भारतीय नागरिकले सिरहा, धनुषा र विराटनगरका व्यक्तिमार्फत काठमाडौंमा लागुऔषध पठाउने र भण्डारीले काठमाडौंमा बसेर बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

पक्राउ परेका तीनै जनामाथि लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply