निजगढ,जिल्ला प्रशासन कार्यालय बाराले रोक लगाएको भनिएको निजगढ नगरपालिका वडा नम्बर ९ स्थित व्यक्तिको नाममा दुषित दर्ता गरिएको चाइनिज क्रसरको सार्वजनिक जग्गामा अझै पनि खनजोत जारी रहेको स्थानीयले बताएका छन ।सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेर भोगचल सुरु गरिएको भन्दै स्थानीयले २ साताअघि गरेको उजुरीपछि बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सो जग्गा दर्ताको अवस्था पत्ता नलागुन्जेलसम्म भोगचलमा रोक लगाउन जिल्ला प्रहरी कार्यालयमार्फत निर्देशन दिनुभएको थियो ।

प्रशासनले रोक लगाए पनि जग्गाधनी बताउदै स्थानीय मनमाया श्रेष्ठको परिवारले जमिन खन्ने र बाली लगाउने कार्य जारी राखेको स्थानीय उर्मिला लामाले जानकारी दिनुभयो । उहाँका अनुसार श्रेष्ठको परिवारका सदस्यहरु दिनहुँ आएर जमिन खन्ने र बाली लगाउने कार्य गरिहेका हुन । ‘सिडियो साहेबको आदेशपछि पनि जग्गाधनी भन्दै बाली लगाउने क्रम रोकिएको छैन, उहाँले भन्नुभयो, सार्वजनिक सम्पतिको व्यक्तिगत प्रयोग गर्ने कार्यमा तत्काल रोक लगाइउनुपर्छ ।’२०२२ सालको नापीमा समेत साविक १०८ नम्बर कित्ताको २ बिगाहा १७ कठ्ठा ३ धुर क्षेत्रफलको सो जमिनलाई पटक पटक गठन भएका सुकुम्वासी समस्या समाधन आयोगले भोगचलको आधारमा धनीपुर्जा वितरण गरेपछि बाँकी रहेको कित्ता नम्बर ४३३ को १२ कठ्ठा ५ धुर जमिन सार्वजनिक हुनुपर्ने स्थानीयले माग गरेका हुन ।
सुकुमवासी समस्या समाधान आयोग बाराले ०६७ सालमा उक्त जमिन निजगढ ८ की मनमायाँ श्रेष्ठको नाममा दुषित दर्ता गरेको भन्दै स्थानीयले दर्ता खारेजीको माग गरेका हुन । आवश्यक छानबिन गरी दर्ता खारेजीको माग राखेर जिल्ला प्रशासन कार्यालय बारा, निजगढ नगरपालिका र मालपोत कार्यालय सिमरामा करिव डेढ सय जनाभन्दा बढीको हस्ताक्षरसहित निवेदन दिएको लामाले बताउनुभयो ।

परापूर्व कालदेखि गौचरणको रुपमा रहेको र महेन्द्र राजमार्ग विस्तारको क्रममा ०५० सालसम्म पनि चाइनीज हेनान कम्पनीले क्रसर उद्योग संचालन गरेको सो जमिनमा सुकुम्बासी आयोगले निजगढ गाविसका तत्कालिन केही जनप्रतिनिधि र मालपोत कार्यालयका कर्मचारीहरुसमेतको मिलिमतोमा दुषत दर्ता गरेको निवेदनमा उल्लेख छ ।

Leave a Reply