निजगढ,निजगढका किशोरीहरुलाई प्रयोग गरेर विभिन्न सहर बजारबाट गैह्कानुनी रुपमा रकम संकलन गर्न लगाउने कार्यमा संलग्न भएको आरोपमा ईलाका प्रहरी कार्यालय निजगढले बुधवार निजगढबाट एक जनालाई पक्राउ गरेको छ ।

 

प्रहरीले संयुक्त नेपाल अनाथ तथा असाहय बालबालिका समाज निजगढ शाखाका प्रमुख बताउने मकवानपुर जिल्लाको मनहरी घर भएका अन्दाजी वर्ष ४० का पासाङ्ग रुम्बालाई निजगढ नगरपालिका वडा नम्बर ७ स्थित कार्यालयबाट नियन्त्रणमा लिएको हो ।
कर्मचारीको रुपमा भर्ना गरिएका निजगढका ४ सहित ८ जना किशोरीहरुलाई विभिन्न जिल्लामा पठाएर रुम्बाले अनाथ बालबालिकाहरुको सहयोगको लागि भन्दै रसिद बिना नै रकम संकलन गर्न लगाउने गरेको प्रहरीले बताएको छ । किशोरीहरुलाई मासिक १५ हजार रुपैया तलब दिने शर्तमा एक महिनाअघि संस्थामा भर्ना गरिएका उनीहरुलाई रुम्बाले तालिका बनाएर विभिन्न जिल्लाका सहर बजारमा रकम संकलन गर्न पठाउने गरेको पाइएको छ । किशोरीहरुबाट हालसम्म कति रकम संकलन गरियो भन्ने बारेमा स्पष्ट भइनसकेको प्रहरीले बताएको छ । उनीहरुलाई संस्थाको नाम र लोगो अंकित पोसाक र परिचय पत्र प्रदान गरेर रकम संकलन गर्न पठाउने गरिएको हो ।

संस्थाको गतिविधि बारे शंका लागेपछि किशोरीका अभिभावकहरुले दिएको सूचनाको आधारमा प्रहरीले कार्यालयमा छापा मारेर कागजातसहित रुम्बालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्जिव ओलीले जानकारी दिनुभयो । किशोरीका अभिभावक कुमार लामाले प्रहरी कार्यालयमै आएर संस्थाले आफ्ना छोरीहरुमार्फत ठगी धन्दा चलाएको गुनासो गर्नुभएको थियो । लामाले किशोरीहरुलाई १ महिनाअघि कर्मचारीको रुपमा भर्ना गरेर विभिन्न सहरमा पठाएर प्रतिव्यक्ति दैनिक २ हजार १ सय रुपैया संकलन गर्न लगाउने गरिएको बताउनुभयो । किशोरीहरुले भने अहिलेसम्म संस्थाबाट तलब बुझ्न पाएका छैनन ।

संयुक्त नेपाल अनाथ तथा असाहय बालबालिका समाजले कर्मचारी आवश्यकता सम्ब्न्धि सूचना गरेपछि आफूले दरखास्त हालेको र अन्तवार्तामा छनौट भएपछि २ महिनादेखि संस्थामा काम गर्दै आएको सुनसरी जिल्ला रामधुनी नगरपालिका वडा नम्बर २ की मनिषा कार्कीले बताउनुभयो । ‘अनाथ बालबालिकको लागि चन्दा संकलन गरेर संस्थामा बुझाउनु पर्ने भनिएको थियो, उहाँले भन्नुभयो, राम्रै काम भन्ठानेका थियौं, तर ठगीधन्दा पो रहेछ ।’ जागिरको प्रलोभनमा पारेर आफूहरुलाई ठगी कार्यमा प्रयोग गरिएको मनिषाले बताउनुभयो । पक्राउ परेका रुम्बामाथि थप अनुसन्धान भइरहेको निरीक्षक ओलीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा दर्ता रहेको सो संस्थाको दर्ता भने कानुनअनुसार नै भएको पाइएको निरीक्षक ओलीको भनाइ छ ।

काठमाण्डौंको बालुवाटारमा मुख्य कार्यालय रहेको सो संस्थाले जिल्ला प्रशासन कार्यालय बाराबाट अनुमति लिएर १ महिनाअघि निजगढ ७ को भेटनरी टोलमा शाखा कार्यालय संचालनमा ल्याएको हो ।

Leave a Reply