धिरेन्द्र तिवारी

कलैया,केहि दिनदेखि बढेको चिसोको कारण बारा जिल्लामा दलित गरिब असहाय र वृद्धवृद्धाहरु प्रभावित भएका छन ।चिसोका कारण बाराको कालैया उपमहानगरपालिका जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, महागढिमाई नगरपालिका, सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका सुवर्ण गाउँपालिका, आदर्शकोतवाल गाउँपालिका, बारागढी गाउँपालिका, करैयामाई गाउँपालिका, देवताल गाउँपालिका , फेटा गाउँपालिका, बिश्रामपुर गाउँपालिका, प्रसौनी गाउँपालिका र परवानीपुर गाउँपालिकाका दलित, गरिब, असहाय लगायत बृद्ध अवस्थामा नागरिकहरुको जनजीवन प्रभावित भएको हो ।स्थानीय सरकारले चिसोबाट बच्न सहयोग नगरपछि दलित, गरिब र असहाय समुदायका सर्वसाधारणहरु अहिले पनि राहतमा न्यानो कापडाको लागि विभिन्न संघसस्थाको मुख ताक्न बाध्य भएको महागढीमाई नगरपालिका वडा नम्बर२ ईनर्वा मुसहर बस्तिका अगुवा अन्त माझीले गुनासो गर्नुभएको छ । माझीका अनुसार पालिका तथा वडा कार्यालयले शितलहर र चिसो छल्नको लागि अहिलेसम्म दाउरा तथा न्यानो कपडा उपलब्ध नगराउँदा ४० घरधुरी दलित गरिब परिवारको जनजीवन कष्टप्रद बनेको छ ।यता, जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालसङ्ग कुरा गर्दा आफुहरुले जिल्लाका १६ वटा पालिकाका प्रमुखहरुलाई चिसो छल्नका प्रत्येक टोलका विभिन्न स्थानमा दाउरा र आवश्यक परेको ठाउमा न्यानो कपडाको वितरणको लागि लागि जिम्मेवारी दिइसकेको बताउनुभयो । तर जिल्लाका विभिन्न पालिकामा दलित, गरिब तथा असहाय समुदायका सर्वसाधारणले चिसोबाट बच्नको लागि कुनै साधन नपाएको सुवर्ण गाउँपालिका वडा नम्बर ७ तेलकुवा मझिटोलका लोरिक माझीले जानकारी गराउनुभएको छ ।

















