कलैया,पूर्वाधार विकास कार्यालय कलैयाका प्रमुख राजेन्द्र साह सरुवाको पत्र नबुझी सम्पर्कविहीन हुनुभएको छ ।४ महिनाअघि नै संघीय सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा सरुवा हुनुभएका साह ‘रमाना पत्र’ नबुझी सम्पर्कविहीन हुनुभएको हो ।
लामो समयदेखि कार्यालय प्रमुख नै सम्पर्कविहिन भएपछि पूर्वाधार विकास कार्यालयको कामकाज अलपत्र परेको छ । साह संघ मातहतका कर्मचारी भएपनि पूर्वाधार विकास कार्यालय प्रदेश मातहतको निकाय हो ।साहले सम्बन्धित कार्यालय, तालुक मन्त्रालय तथा स्थानीय प्रशासन प्रमुखलाई समेत कुनै जानकारी नगराई सम्पर्कविहीन भएको पूर्वाधार कार्यालयकी सूचना अधिकारी आरती चौधरीले जनाउनुभयो ।
कार्यालय प्रमुख साह कहाँ, कुन प्रयोजनको कामका लागि गएको भन्ने विषयमा कार्यालयमा कसैलाई जानकारी नभएको चौधरीको भनाई छ । साहले प्रयोग गर्दै आएको कार्यालयको मोबाइल नम्बरसमेत लामो समयदेखि बन्द छ ।‘कार्यालय प्रमुखले सरुवाको रमाना पत्र नबुझी सम्पर्कविहीन हुँदा सम्पूर्ण आर्थिक तथा प्रशासनिक काममा अवरोध भएको छ,’ इन्जिनियर चौधरीले भन्नुभयो, ‘नयाँ कार्यालय प्रमुख कहिले आउनुहुन्छ भन्ने पनि टुङ्गो छैन ।’
पूर्वाधार विकास कार्यालयमा प्रमुख नहुँदा चालु आर्थिक वर्षको प्रदेश सरकारको १ अर्ब ३८ करोड ९ लाख ९८ हजार लागतका ३७८ वटा योजना कार्यान्वयनमा जोखिम उत्पन्न भएको छ ।
जिल्लाको १६ वटा पालिकाका १० लाखसम्मका १६ वटा योजना छन् भने १० देखि २५ लाखसम्मका २४४ वटा, २५ देखि ५० लाखसम्मका ८६ वटा र ५० लाख माथिका ३२ वटा योजना छन् ।
पूर्वाधार विकास कार्यालयले २५ लाख मुनिका योजना उपभोक्ता समिति र २५ लाखदेखि ५० लाखसम्मका योजना टेन्डर गरेर ठेकदारमार्फत कार्यान्वयन गर्दैआएको छ ।
इन्जिनियर चौधरीले ५० लाखमाथिका ३२ वटा बहुवर्षीय योजनाको हकमा भने भुक्तानीमा समस्या भए पनि काम नरोकिएको बताउनुभयो ।वैशाख दोस्रो साता बितिसक्दा हालसम्म कुनै पनि उपभोक्ता समिति गठन नभएको र टेन्डरको सार्वजनिक सूचनासमेत जारी नभएकाले यस वर्ष योजना कार्यान्वयन गर्न समस्या हुनसक्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको कमजोरी र लापरवाहीका कारण यो वर्ष जिल्लामा आएका विकास निर्माणका सम्पूर्ण काम प्रभावित भएको छ ।यसअघि कारवाहीमा परेका पूर्वाधार कार्यालयका प्रमुख साहलाई प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले राजनीतिक पहुँचका आधारमा पुनः जिम्मेवारी दिएको थियो । गत वर्ष मदन भण्डारी आवास निर्माण र निधि निवास कार्यक्रमको नाममा १४ करोड हिनामिना गरेको आरोपमा साहविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
पछि अदालतबाट सफाई पाएलगत्तै साह पुन पुरानै कार्यालयमा फर्किनुभएको थियो । जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार साह राजनीतिक पहुँच र पैसाको बलमा पुनः साविककै कार्यालय फर्किएको जनाइएको छ ।साहले अख्तियारबाट निलम्बनमा परेपछि पनि उपभोक्ता समिति अध्यक्ष र साहको संयुक्त नाममा खाता सञ्चालन भएको भेटिएको थियो । साहले महागढीमाई नगरपालिका– १०, गञ्जभवानीपुरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा ६ वटा, वीरगञ्ज शाखामा ६ वटा र निजगढमा २ वटा खाता सञ्चालन गरेको भेटिएको छ । बैंकका ती शाखाबाट मात्रै १४ करोडभन्दा धेरै रकमको आर्थिक कारोबार भेटिएको थियो ।



















