कृष्ण मोहन साह
सेढवा,पर्साको ग्रामीण क्षेत्रमा बन्द भएको गाँजाको खेती फेरि शुरु भएको छ । प्रहरी प्रशासनले कडाइका साथ कारबाही अभियान थालेपछि पर्सामा २०६७ सालदेखि पूर्णरुपमै बन्द भएको गाँजा खेती अहिले भने फेरि शुरु भएको हो ।
पर्साको सोनवर्षा, शंकरसरैया, पटेर्वासुगौली, सुवर्णपुर, मधुवन मथवल ,निर्मलवसती, बिजय बस्ती, निचुटा, प्रसौनीविर्ता, सखुवाप्रसौनी, गादी, बागेश्वरी तित्रौनालगायत साविकका गाविसहरुमा किसानहरुले गाँजा रोपेको स्थानीयवासीले बताएका छन् ।चितवन राष्ट्रिय निकुन्ज र पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वन क्षेत्रसंग जोडिएका साविकका गाविसहरुमा गाँजाको कारोबारीहरुले किसानको खेतमा गाँजा खेती शुरु गरेका हुन । यस्तै वन अतिक्रमण गरिएको जग्गा र खोलाको बगरमा पनि कारोबारी र किसानहरुले गाँजा रोपेका छन् ।१०÷११ वर्षदेखि गाँजाको खेती बन्द भएका कारण पर्सामा गाँजाको बीउको अभाव भएपछि यहाँका किसानहरुले मकवानपुरका पहाडी क्षेत्रबाट बीउ ल्याएर गाँजा रोपेका हुन् । कतिपय स्थानमा भने किसानहरुले गाँजाका कारोबारीहरुको लगानीमा गाँजाको खेती गरेको गाउँलेहरुले बताएका छन् । तर जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापालेले भने आफूलाई गाँजा खेती भएको बारेमा अहिलेसम्म कुनै जानकारी नभएको भन्दै तत्काल त्यस क्षेत्रमा गाँजा खेती फाडने प्रहरी टोली परिचालन गरिने बताउनुभयो ।

Leave a Reply