निजगढ,जंगली हात्ती नियन्त्रणको लागि वन कर्मचारीहरुले चासो नदेखाएको भन्दै आक्रोशित स्थानीयले कोल्हबी नगरपालिका वडा नम्बर ५ स्थित ककडीको ककडी रेञ्जपोष्टमा शुक्रवार राति ढुङ्गामुडा गरेका छन ।ढुङ्गामुडाबाट कार्यालय भवनको भित्ता र साइनबोर्डमा क्षति पुगेको कार्यालयका फरेष्टर मुकेशकुमार दासले जानकारी दिनुभयो । ‘हात्ती आयो नियन्त्रण गर्न कर्मचारी आउनुपर्यो भनेर एकछिन अघि नचिनेको मान्छेले मोबाइलमा फोन गरेका थिए, दासले भन्नुभयो, राम्रोसंग कुरा हुन नपाउदै एक्कासी ठुलो संख्यमा आएर कार्यलयमा ढुङ्गामुडा र तोडफड गरे ।’दासका अनुसार करिव ४०÷४५ जनाको संख्यमा राति करिव ११ बजेतिर आएको सो समुहले हात्ती नियन्त्रणमा चासो नदेखाएको भन्दै कर्मचारीहरुमाथि गालिगलौज गर्दै कार्यालयमा ढुङ्गामुडा गरेका हुन । फरेष्टर दासले बिना कुनै गल्तिमा पनि ढुङ्गामुडा गरेर स्थानीयले कर्मचारीलाई दुख दिएको पनि बताउनुभयो ।‘जंगली जनावरले आएर दुख दिदा पनि सजाय कर्मचारीले भोग्नुपर्छ,’ दासले भन्नुभयो, वन कर्मचारीले नै धपाएर पठाएको जस्तो व्यवहार भयो ।’ उहाँले यस्तो घटनामा कर्मचारीमाथि आक्रोश पोख्नु जायज नभएको पनि बताउनुभयो ।बाराको जंगलमा केही दिनयता देखा परेको हात्तीले स्थानीयको ज्यान लिने र किसानको खेतमा लगाएको बाली खाएर क्षेति गर्न थालेपछि ककडीलगायत जंगल छेउछाउका बासिन्दाहरु त्रसित बनेका छन ।डेढ साताअघि स्थानीय एकजनाको ज्यान लिएको ‘यमगज’ नामको हात्ती त्यसपछि पनि पटकपटक बस्तिमा पसेर घरगोठ भत्काउने र बाली खाने क्रम जारी राखेपछि जीतपुरसिमरा वडा नम्बर १६ टाँगियाका बासिन्दाहरु सबैभन्दा बढी भयभित बनेको स्थानीय टाँगियाबस्ति सरोकार समितिका संयोजक एवंम स्थानीय अगुवा रमेश सापकोटाले बताउनुभयो । जंगली हात्ती पसेर बस्तिमा आक्रमण गर्ने र उपद्रो मच्याउने क्रम नरोकिएपछि स्थानीय बासिन्दाहरु यतिबेला आतङ्कित बनेको उहाँले बताउनुभयो । उहाँका अनुसार शुक्रवार राति पनि बस्तिमा आएर हात्तीले स्थानीय प्रकास मगरको घरसंगै रहेको गोठ भत्काउनुको साथै किसानको खेतमा लगाएको केरा र मकै बाली खाएर नष्ट पारेको थियो । हात्तीले १ बस्तिका दर्जनभन्दा बढी किसानको ३ बिगाहाभन्दा बढी क्षेत्रमा लगाएको बाली नष्ट पारेको उहाँले जानकारी दिनुभयो ।‘जुनसुकै बेला पनि पसेर आक्रमण गर्न सक्ने डर बढेको छ, सापकोटाले भन्नुभयो, घाँस दाउरा गर्न त परै जाओस घरभित्र पनि राम्ररी सुत्न सकिएको छैन ।’ उहाँले हात्तीको गतिविधि बढेपछि केही दिनयता बस्तिका सर्वसाधारण एक्लैदुक्लै हिडन र साँझ बिहान घर बाहिर निस्कने क्रम पनि पातलो बनेको छ । बस्तिमा आतङ्क मच्याउने हात्ती नियन्त्रण गर्न वन र स्थानीय प्रशासनले चासो नदेखाएकोमा चिन्ता पनि व्यक्त गर्नुभयो । पर्सा वन्यजन्तु निकुञ्जबाट घरपालुवा हात्ती ल्याएर हात्ती धपाउनुपर्ने सापकोटाको भनाइ छ ।हात्तीको आक्रमणबाट दुई सताअघि स्थानीय ४५ बर्षका डापान दर्लामी मगरको ज्यान गएपछि बस्तिमा त्रास फैलिएको हो । दर्लामीको ज्यान लिएपछि सो हात्ती बस्ति वरिपरीको जंगलमा बस्दै आएको र रातको समयमा बस्तिमा पसेर बाली क्षति गर्ने गरेको छ ।डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले पनि जिल्लाको वन क्षेत्रमा हात्तीको गतिविधि बढेको र सो हात्ती जुनसुकै बेला पनि बस्तिमा पस्न सक्ने भएकोले सर्तक रहन टाँगियाबस्तिसहित वन क्षेत्र आसपासका अन्य बस्तिका बासिन्दाहरुसंग आग्रह गर्नुभएको छ ।डेढ साताअघि मकवानपुरबाट रौतहट हुदै बारा जिल्लाको वनमा आएको ‘यम गज’ नामको सो हात्तीले केही दिनदेखि जंगल क्षेत्र नजिकका बस्तिमा पसेर जथाभावी आक्रमण गर्न थालेको वन कार्यालय प्रमुख सिंहको भनाइ छ । सो हात्तीले १ महिनाअघि मकवानपुरको मनहरीमा पनि एक महिलाको ज्यान लिएको उहाँले जानकारी दिनुभयो ।कुनै खास कारणले बथानबाट लखेटिएपछि विछिप्त अवस्थामा पुगेको सो हात्ती पछिल्लो समय जिल्लाको टाँगिया र ककडी क्षेत्रको वनमा बस्दै आएको वन कर्मचारीहरुले बताएका छन ।

Leave a Reply