निजगढ,कलैयामा गोली हानी हत्या गरिएका बालएकता बोडिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यारालाई सार्वजनिक गरि कारबाहीको माग गर्दै शनिवार साँझ जिल्ला सदरमुकाम कलैयामा मैनबत्ति सहितको मानव साङ्ग्लो प्रदर्शन गरिएको छ ।मृतक रुपेशका आफन्त र स्थानीयले हत्याका मुख्य दोषिलाई पक्राउ गरी कारबाहीको माग गर्दै हातमा मैनबत्ति कलैयाको भरतचोकमा प्रदर्शन गरेका हुन ।प्रहरीले हत्या आरोपमा एक महिलासहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको भएपनि रुपेशको परिवारका सदस्यहरुले प्रहरी अनुसन्धानमा आशंका गर्दैआएका छन ।
बारा प्रहरीले हत्यामा रुपेशकी प्रेमिका स्थानीय २१ वर्षिय राधा र बालएकता बोडिङ्ग स्कुलका २ जना शिक्षक समेतको हात रहेको बताएको छ । प्रेम सम्बन्धको कारण राधाको अर्का प्रेमी भनिएका भारतीय नागरिक मनोज गुप्ताले सुटर प्रयोग गरेर रुपेशको हत्या गरेको दाबी प्रहरीको दाबी छ । तर प्रहरीको भनाई अपत्यारिलो भन्दै मृतकका आफन्तले अनुसन्धानप्रति असहमति जनाउदै बास्तविक दोषि पत्ता लगाउन माग गरेका हुन ।मृतकका दाजु भोला सर्राफले अनुसन्धानको नाममा प्रहरीले सार्वजनिक गरेको घटना विवरण पत्याउन नसकिने खालको भएको बताउनुभएको छ । उहाँले रुपेशको कुनै युवतीसंग प्रेम सम्बन्ध नरहेको र हत्यामा सहयोगी भूमिका निर्वाहा गरेको भनेर प्रहरीले नियन्त्रणमा लिएका बालएकता बोडिङ्गका शिक्षक रियाज अन्सारी र जमिल अख्तर पनि निर्दोष रहेको बताउनुभएको छ ।घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी राधा, विद्यालयका शिक्षक जमिल अस्तर र रियाज अन्सारीसहित ५ जनालाई पत्रकार सम्मेलनमार्फत प्रहरीले गत बुधवार सार्वजनिक गरेको थियो । राधाको अर्का प्रेमी मनोजले भारतबाट सुटरहरु बोलाएर रुपेशको हत्या गराएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभएको थियो ।प्रहरीले दाबी गरे जस्तो रुपेशको प्रेम सम्बन्ध नभएको र विद्यालयका शिक्षकहरु अख्तर र अन्सारीको हत्यामा कुनै संलग्नता नभएको पनि दाजु भोलाले जिकिर गर्नुभएको छ । उहाँकाअनुसार घटना लगत्तै जमिलले घाइते रुपेशलाई मोटरसाइकलमा राखेर कलैया अस्पताल पु¥याएको र रियाज भने घटनाको दिन मृतकका अर्का दाजु सुमोदसंगै वीरगञ्जमा रहेका थिए ।दुई वटा मोटरसाइकलमा आएका भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना १ सुकलहीयाका २५ वर्षिय सुजितकुमार सिंह, सोही ठाँउका २४ वर्षिय चञ्चल पाण्डे, २२ वर्षिय मनिष सहनी र २० वर्षिय कामेश्वर सहनीले कलैयाको मदर्शा टोलस्थित सडकमा रुपेशलाई गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।घटनाका मुख्य अभियुक्त मनोजसहित अन्य सुटरहरु अझै पक्राउ नपरेकाले पनि परिवारका सदस्यमा प्रहरीप्रति आशंका देखिएको हो ।



















