निजगढ,निजगढ नगरपालिकाले महेन्द्र राजमार्ग अन्तर्गत नगर क्षेत्रभित्र पर्ने सडकखण्डमा बढ्दो दुर्घटना जोखिम न्यूनीकरण गर्न आवश्यक पहल शुरु गरेको छ ।नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढ बारासँग आवश्यक विवरण माग गरेर दुर्घटना न्यूनीकरणको लागि पहल सुरु गरेको जनाएको हो ।
नगर कार्यपालिकाको कार्यालयले जिल्ला ट्राफिक कार्यालयमा पठाइएको पत्रमा राजमार्गको पूर्वतर्फ सिङ्गौल जाने गेटदेखि पश्चिमतर्फ बकैया पुलसम्मको सडक क्षेत्रलाई दुर्घटनामुक्त सडक बनाउनुपर्ने आवश्यकता औंल्याउदै सो क्षेत्रको आवश्यक स्थानमा ‘के, कस्तो संकेत’ (ट्राफिक साइन) राख्नुपर्ने, साथै ‘जेब्रा क्रसिङ’ कहाँ–कहाँ आवश्यक छ भन्ने विषयमा विस्तृत विवरण उपलब्ध गराउन प्रहरीसंग अनुरोध गरेको छ ।
नगरपालिकाले उक्त विवरण बैशाख २१ गतेभित्र उपलब्ध गराउन पनि आग्रह गरेकोे छ ।
सडक दुर्घटनाका कारण हुने मानवीय क्षति तथा जोखिमलाई ध्यानमा राख्दै सवारी साधनको गति नियन्त्रण, सवारी साधनबीचको ओभरटेक समस्या समाधान तथा जथाभावी रोक्ने प्रवृत्तिलाई नियन्त्रण गर्न नगरपािलकाले ट्राफिक प्रहरीलाई राजमार्ग क्षेत्रमा संकेत जडान गर्न सहयोग गरिने जनाएको छ ।


















