पुष्पराज खतिवडा
बारा,बारामा दुर्घटना न्युनीकरणका लागि सडक सुुरक्षामा कडाइ हुने भएको छ । शुक्रवार कलैयास्थित जिल्ला समन्वय समिति बाराको सभाकक्षमा आयोजित सरोकारवालाहरुको छलफलले सडक सुरक्षाका लागि सवारी साधन व्यवस्थापन र चेकजाँचमा कडाइ गर्ने निर्णय गरेको हो ।

जिल्ला सुरक्षा संयन्त्रका प्रमुख समेत रहुनुभएका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा जिल्लाको ट्राफिक व्यवस्थापन सम्बन्धि सरोकारवालासँगको छलफल कार्यक्रमबाट यस्तो निर्णय भएको हो ।यो निर्णयसँगै सडकमा हुने लापरबाही र त्यसबाट हुने दुर्घटना र धनजनको क्षति कम हुने आशा गरिएको छ । ‘साना, ठुला सवारीको व्यवस्थापन, जथाभावी संचालन एवं पार्किङ, बिना लाइसेन्स, बिना हेल्मेट, अत्यधिक लोडगरी सवारी संचालन, क्षमताभन्दा बढी यात्रु बोकेर हिडने साधनमाथि प्रहरीले जुनसुकै बेला कारबाही गर्ने छ ।’ बैठकको निर्णयमा भनिएको छ ।

बैठकले सडकमा निर्माण सामाग्री राख्न, पशु चौपाया छोड्न र जथाभावी पार्किङ गर्न नपाइने र त्यसो गरेको पाइएमा सम्बन्धित व्यक्ति, सवारी धनी र सवारी चालकमाथि कारबाही गरिने र बजार क्षेत्रमा प्रेसर हर्न समेत बजाउन नपाइने निर्णय गरिएको छ । सवारी पार्किङ्गको लागि सम्बन्धित पालिकामा समन्वय गरि उचित पार्किङ्ग क्षेत्र तोकिने निर्णय पनि गरिएको छ ।
सवारी धनी, व्यवसायीहरुले आफ्ना सवारी वा सेवाग्राहीका सवारी पार्किङ्ग आफैंले आफ्नो जमिनमा व्यवस्थापन गर्नुपर्ने, सार्वजनिक सडकलाई व्यवसायले प्रयोग गरे त्यसको जिम्मा स्वयम्ले लिनुपर्ने, शहरको सौन्दर्यता र सवारी ब्यवस्थापनमा कुनै किसिमको मोलाहिजा नहुने निर्णयमा भनिएको छ ।
त्यसैगरी कुनै व्यक्तिले कुनै किसिमको त्रुटी गरेर कारबाहीको क्रममा भनसुन गर्ने, एक पटकको लागि छाड्दिनु भन्ने सामाजिक अगुवाहरुको समेत नाम सार्वजनिक गरिने भएको छ । सडक नियमको पालना गर्न बैठकले सबैमा अनुरोध गर्ने पनि निर्णय गरेको बाराका प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।

अटो, रिक्सा, मयूरीलाई मुख्य राजमार्गहरुमा गुड्न रोक लगाईने छ । भने एउटा पालिकामा दर्ता भई संचालनमा रहेका यस्ता साना सवारीलाई अर्को पालिका भित्र संचालनमा तुरुन्तै रोक लगाईने भएको छ । यस्तै कलैयाको यातायात सहजताका लागि बसपार्कको प्रयोगलाई बाध्यकारी बनाईने र त्यसका लागि आवश्यक सहयोग नगरप्रमुख विनोद साहको अगुवाईमा कलैया उपमहानगरपालिकाले गर्ने पनि बैठकमा निर्णय भएको प्रजिअ अधिकारीले बताउनु भयो ।
छलफलमा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्रकुमार साह, कलैया उपमहानगरपालिका नगर प्रमुख बिनोद साह, प्रजिअ बसन्त अधिकारी, नेपाली सेनाको ज्वाला दलगणका सेनानी रामकृष्ण हुमागाँई प्रतिनिधि, बारा जिल्लाका प्रहरी प्रमुख एसपी महेन्द्र खड्कालगायतको उपस्थिति रहेको थियो ।
यसैगरी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख एसपी भीम किरण बोगट्टी, नागरिक समाजका अध्यक्ष उमेशलाल दास, नेपाल पत्रकार मसहासंघ सचिव पुष्पराज खतिवडा, सहसचिव ईन्दीप कोइराला, उद्योग बाणिज्य संघलगायत विभिन्न एक दर्जनबढी साना ठुला यात्रुवाहक यातायात व्यवसायी संगठनका प्रतिनिधिहरु छलफल कार्यक्रममा सहभागी थिए ।कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बाराकी प्रमुख प्रहरी निरीक्षक नीरु दुवालले सडकमा देखिएका प्रमुख समस्या, सडक सुरक्षामा अपनाइएका गतिविधि र सरोकारवालहरुसँगको अपेक्षा सहितको कार्यपत्र पेश गर्नु भएको थियो ।बाराका प्रमुख जिल्ला अधिकारी र ट्राफिक प्रहरी निरीक्षक दुवालको सहजजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply