धनुषा । तराई–मधेसमा बाँसका ढक्की, डालो, नाङ्लोलगायत सामग्री बनाउने पेसा परम्परागत रूपमा डोम समुदायसँग जोडिँदै आएको छ । तर पछिल्लो समय धनुषाको धनौजी गाउँपालिका–३ कटैयागाउँमा भने विभिन्न समुदायका मानिसले समेत यो पेसा अपनाउन थालेका छन् ।

गाउँका मुखिया, मण्डल, यादव, चमार, मुस्लिम र साह समुदायका मानिस बाँसको चोयाबाट विभिन्न सामग्री बनाउन सक्रिय छन् । यसबाट आम्दानी गर्न सकिने भएपछि अन्य समुदायका मानिसको आकर्षण पनि बढ्दै गएको हो ।

स्थानीय निर्धन मुखियाका अनुसार कटैयागाउँमा करिब दुई सय जना बाँसका सामग्री बनाउने काममा संलग्न छन् । करिब डेढ सय घरपरिवार रहेको गाउँका अधिकांश घरका सदस्य कुनै न कुनै रूपमा यो पेसामा जोडिएका छन् ।

उनले बाँसका सामग्री बनाउने सीप कुनै एउटा जात वा समुदायमा मात्र सीमित नरहेको बताए । ‘डोम समुदायले मात्र बाँसका सामग्री बुन्छन् भन्ने सोच सही होइन, सीप हुनेले यो काम गरेर आम्दानी गर्न सक्छन्,’ उनले भने ।

लामो समयदेखि बाँसका सामग्री बनाउँदै आएका स्थानीय अरबिन्दकुमार साह पनि यो पेसालाई जातीय पहिचानसँग जोडेर हेर्न नहुने बताउँछन् ।

उनका अनुसार बाँसका सामग्री बनाएर दैनिक करिब एक हजार रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ । ‘त्यसै बसिरहँदा कसैले दुई रुपैयाँ दिँदैन । जुनसुकै काम भए पनि लाज मान्नुहुँदैन, काम गरेर खानुपर्छ,’ उनले भने ।

कतिपयले अन्य व्यवसाय गर्न सुझाव दिए पनि आफूलाई बाँसका सामग्री बनाउने कामबाटै राम्रो आम्दानी भइरहेको साहको भनाइ छ ।

छठ पर्व नजिकिएसँगै कटैयागाउँमा बाँसका सामग्री बनाउनेहरूको व्यस्तता थप बढेको छ । छठमा ढक्की, डालो, नाङ्लोलगायत सामग्रीको माग बढी हुने भएकाले उत्पादन पनि बढाइएको छ ।

यद्यपि यो पेसा छठ पर्वमा मात्र सीमित छैन । स्थानीयले वर्षभरि बजारको मागअनुसार विभिन्न सामग्री उत्पादन गर्दै आएका छन् । तयार भएका सामग्री खरिद गर्न व्यापारीहरू गाउँमै पुग्ने गरेका छन् ।

कटैयागाउँको यो अभ्यासले परम्परागत रूपमा कुनै समुदायसँग जोडिएको सीप र पेसा अवसर तथा मेहनतका आधारमा सबैले अपनाउन सक्ने उदाहरण प्रस्तुत गरेको छ ।

Leave a Reply