बसन्त लामा
सिंगौल,निजगढ नगरपालिकाको वडा नम्बर ३ सिंगौलमा रहेका लालीगुराँस र सुखाशितल सामुदायिक वन उपभोक्ता समितिको लामो समयसम्म साधारण सभा नहुँदा संरक्षण कार्य प्रभावित बनेको छ ।

डेढ दशकदेखि समूहको साधारण सभा गर्नसकेपछि ती समूहको वैधानिकतामाथि नै प्रश्न उठेको छ ।
दुबै वन समूह जिल्ला वन कार्यालयमा १७ वर्षअघि दर्ता भएको हुन । जिल्ला वन कार्यालयमा २०६४ सालमा दर्ता भएको लालीगुराँस सामुदायिक वनमा एकपटक पनि साधारण सभा नभएको र एउटै कार्यसमितिको नाममा लामो समयदेखि कारोबार हुदैआएको छ । दुबै वन समूह चुरे क्षेत्रमा पर्दछन ।
साधारण सभा नहुँदा समूहको काम अवरुद्ध बनेको र वन संरक्षण कार्य प्रभावित हुँदैआएको छ । साधारण सभा गर्ने बारेमा कार्यसमिति र उपभोक्ताहरुले पनि चासो नदेखाएकोले वन समूह लथालिङ्ग अवस्थामा पुगेको हो ।त्यस्तै सिगौलामै रहेको सुखाशितल सामुदायिक वन समूहको हालत पनि उस्तै छ । वन संरक्षण कार्यमा कार्यसमितिका पदाधिकारी र उपभोक्ताहरुले चासो नदेखाउँदा सुखाशितल सामुदायिक वनको वन क्षेत्रको जमिनमा स्थानीय केही व्यक्रिहरुले केरा खेती गर्दैआएका छन ।
सामुदायिक वनको विधान विपरित वन क्षेत्रभित्र भइरहेको केरा खेती बारे स्थानीय उपभोक्ता कसैले पनि जानकारी दिन चाहेका छैनन । सुखाशितल सामुदायिक वनमा केरा बाली लगाउने र चुरे क्षेत्रको जंगल पनि अतिक्रमण भएको छ । सामुदायिक वनलाई हस्तान्तरण गरेर दिइएको वन समूहले काम गर्न नसकेको र उल्टै वन र चुरे क्षेत्रको अतिक्रमण गरिरहदा पनि डिभिजन वन कार्यालय सिमरा पनि मुकदर्शक बनेको र कुनै कारबाही नगरेको केही स्थानीयले बताएका छन ।मकवानपुरको बकैया गाँउपालिका वडा नम्बर २ को थाकालचौरबाट निस्कनेबगर खोला झरण पर्ने सुखशितल सामुदायिक वन पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण छ । वनसंगै झरणाको पनि संरक्षण र प्रचार प्रशार हुने हो भने पर्यटकीय दृष्टिले पनि यो क्षेत्र शंभावना युक्त छ । तर कार्यसमितिको बेवास्ताले सो क्षेत्रको वन र झरणा ओझेलमा परेका छन ।

















