बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका को वडा नम्बर १ र रौतहट जिल्ला जोड्ने धनसार खोलाको झोलुङे पुलको निर्माण कार्य अलपत्र हुँदा सर्वसाधारणले सास्ति बेहोर्दै आएका छन ।उपभोक्ता समितिकोतर्फबाट गर्नुपर्ने कार्य सम्पन्न भैसकेको अवस्थामा पनि निर्माण कम्पनीको लापरवाहीका कारण लामो समयदेखि सो पुल निर्माण कार्य अधुरो रहेको हो ।-
८० प्रतिशत निर्माण कार्य पूरा भइसकेको अवस्थामा पनि पुल अधुरो रहेको हो ।
निजगढ नगरपालिकाले चालु आर्थिक वर्ष ०८२-०८३ को बजेटमा पनि अधुरो पुलको लागि रकम विनियोज नगरेकाले निर्माण कार्य अनिश्चित बनेको छ । निजगढ नगरपालिकाको वडा नम्बर १ कार्यालयले पनि यसपालि विनियोजित बार्षिक बजेटमा पनि रकम नपरेपछि पुल नबन्ने आशंकामा सर्वसाधारणले चिन्ता जनाएका छन । ‘वडा कार्यालयले त विनियोजत गरेन-गरेन निजगढ नगरपालिका कार्यालयले समेत अधुरो झोलुे पुलको लागि बजेट छुट्याएको छैन ।’ एकजना स्थानीय बासिन्दाले भने ।
निजगढ वडा नम्बर १ का स्थानीयको भनाई अनुसार पुल निर्माण गर्न बनाइएको उपभोक्ता समितिमा निर्वाचित जनप्रतिनिधि निकट व्यक्तिहरु नपरेकाले पुलको लागि बजेट नछुट्टयाइएको बताइएको छ ।

 

 वर्षभित्र सम्पन्न गर्ने भनिएको सो पुल निर्माण कार्य शुरु भएको ४ बर्ष बितिसक्दा पनि अधुरो नै रहेकाले छिमेकी जिल्ला रौतहटको पुरानो नर्सरी, इपिलघारीलगायतका बस्तिबाबाट अध्ययन गर्न सिंगौलमा आउने विद्यार्थी र दैनिक कामको लागि निजगढ आउने स्थानीयले समस्या बेहोर्नु परेको छ ।बर्खायाममा धनसार खोलामा बाढी आएपछि बालबालिकाहरु विद्यालय जान नपाएर पठनपाठनबाट बन्चित हुनु परेको अभिभावकहरुको गुनासो छ ।


गाउँमा माध्यमिक तहको पठनपाठन हुने विद्यालय नहुँदा सो क्षेत्रका बालबालिकाहरु सिंगौलस्थित नेपाल राष्ट्रिय उच्च माध्यामिक विद्यालयमा भर्ना भएर पढ्दै आएका छन । सो विद्यालयमा ८१ प्रतिशतभन्दा बढी विद्यार्थी रौतहटबाट आउने गरेका छन ।
निजगढ नगरपालिकाले हेल्भेटाँससंग १ करोड २७ लाखको लागतमा २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ०७९ सालमा संझौता गरेको थियो । हाल पुलमा स्टीलका सामाग्रीहरु टावर, जाली, प्लेट जडानको काम बाँकी रहेको छ । बाँकी काम पूरा गर्न ६० देखि ६२ लाख रुपैया लाग्ने बताइएको छ ।

Leave a Reply