सिमरा,सरकारी कार्यालयको सेवा प्रवाहमा सरकारको पछिल्लो निर्णयले सर्वसाधारणलाई सास्ती भएको सेवाग्राहीहरुले गुनासो गरेका छन ।खासगरी मालपोत र नापी कार्यालयमा सेवाग्राहीको लागि सहयोगी भूमिका निर्वाहा गर्दैआएका लेखापढी व्यवसायी (लेखनदास) हरुलाई बिचौलियाभन्दै कार्यालय प्रवेशमा रोक लगाइएपछि सेवा लिन पुगेका नागरिकले दुःख बेहोर्नु परेको मालपोत कार्यालय सिमरामा भेटिएका सेवाग्राहीले गुनासो गरेका छन ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष एवं पालिकाका प्रवक्ता ईश्वर के.सी. गत हप्ता मालपोत सिमरा कार्यालयको पश्चिमपट्टी भm्यालमा उभिएका सेवाग्राहीको भिडमा पसिना पुछ्दै गरेको अवस्थामा भेटिनुभयो ।
उहाँ कर्जा लिने प्रयोजनका लागि धितो रोक्का गराउन कार्यालयमा पुग्नुभएको थियो । ‘दुई घण्टादेखि भm्यालमा कैदी जस्तो उभिएको छु, चर्को गर्मी र त्यसमाथि कर्मचारीको व्यवहार पनि उस्तै छ ।’ उहाँले दुःखेसो व्यक्त गर्नुभयो ।सेवाग्राहीलाई एउटा सरकारी कार्यालयमा मानवीय रुपमा सेवा दिन समेत कन्जुस्याँई गरेको पाउँदा दुःख लागेको उहाँको भनाई थियो । दिउँसोको चर्कोघाम र गर्मीमा घण्टौं सेवाग्राही झ्यालमा उभिएर सेवा लिनु पर्ने यो कस्तो व्यवस्थापन हो ? नागरिकले तिर्ने करबाट कर्मचारी र प्रशासकलाई मात्रै सुविधा पुग्दा सेवाग्राहीका लागि पंखा वा एसीमुनी बसेर सेवा पाउने अधिकार छ कि छैन, वडा अध्यक्ष के.सी.ले प्रश्न गर्नुभयो ।
मालपोत कार्यालयलाई पालिकाको एउटा ईकाईका रुपमा पठाएर सेवामा सहजीकरण गर्नसके केही हदसम्म समस्याको समाधान निस्किने उहाँको भनाई छ । ‘मालपोतको सेवा पालिकाबाट संचालन गर्न जरुरी छ, त्यसका लागि आवश्यक पहल गर्न समन्वय गर्नेछु ।’ उहाँले भन्नुभयो ।
यस्तै सिमराका स्थानीय धर्म श्रेष्ठले कार्यालयमा सेवा लिन जाने सर्वसाधारणले सास्ति बेहोर्नु परेको सुनाउनुभयो । ‘सेवाको प्रकार अनुसार अन्य कार्यालयहरुको अवस्था कस्तो छ, थाहा भएन तर मालपोत कार्यालयमा भने सारै दुःख पाइयो ।’ उहाँले भन्नुभयो । ‘पहिला लेखनदासलाई कामको जिम्मा दिएर सजिलै काम सकेर घर फर्किन पाइन्थ्यो, उहाँले भन्नुभयो, अहिले लेखनदाससँग भू–सेवासहित आवश्यक लेखापढी गरेर आफैं दौडिनु परेको छ । लेखनदासलाई सेवाशुल्क दिनै पर्यो । पैसा र समय दुबै खर्च भएको छ ।’ उहाँले भन्नुभयो ।
भू–सेवा सहित सेवाग्राहीका कामको सहजीकरण कार्यालयभित्रैका कर्मचारीले गरिदिने व्यवस्था भए सहज हुने उहाँको भनाई छ । तर त्यस्तो व्यवस्था नहुँदा सहयोग गर्नेलाई बिचौलियाको ट्याँग लगाएर प्रवेश निशेध गरिएकाले समस्या आएको उहाँको भनाई छ ।
भू–सेवाको काम वडाबाटै हुन्छ नि भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ– ‘वडाको काम व्यवहारिक छैन । त्यहाँ काम गरेर आयो । सानो समस्या भए फेरि कुद्नु पर्छ । नजिक हुनेलाई त ठिकै छ । टाढालाई त गाह्रो हुन्छ ।’ वडामा अनुभवी र प्रयाप्त कर्मचारी नभएकोले सेवा प्रभावकारी बन्न नसकेको उहाँको भनाई छ ।
उहाँले वडाको काम विस्तारै सहज बन्ने उहाँले आश गर्नुभएको छ ।
निजगढबाट आएका सेवाग्राही दिलबहादुर लामाले आफू पनि कामको सिलसिलामा लामो समयदेखि कार्यालयको भm्यालमा उभिनुपरेको सुनाउनुभयो । सेवाग्राही लामा कार्यालयले सेवाग्राहीमैत्री वातावरण दिन नसक्दा आफू अस्वस्थ्य रहेपनि उभिनै पर्ने बाध्यतामा रहेको बताउनुभयो । ‘बिहान ११ बजेदेखि कार्यालयको भm्यालमा छु । काम सकिएको छैन । कैले सर्भर गयो र कैले के भयो भनेर बस्दाबस्दै आजको दिन गयो ।’ लामाले भन्नुभयो ।
सैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ जैतापुरकी बेलीमाया गोलेले पनि मालपोतको सेवाले दुःख पाएको बताउनुभयो । उहाँ स्थानीय सहकारीमा कर्जा लिँदा रोक्का रहेको जमिन फुकुवा गरी पुनः रोक्का गर्न सिमरा मालपोत पुग्नुभएको थियो । तर मालपोतको मोठ शाखाकी एउटी नयाँ महिला कर्मचारीले उल्टै हप्कीदप्की लगाउँदै लिखत फट्टा गर्न कलैया जानु भनेपछि उहाँ निराश देखिनुभएको थियो ।
२०७५ सालमा मालपोत सिमरा स्थापना भएपछि मनहर्वा, निजगढ, जीतपुर, सिमरा, फत्तेपुर, डुमरवाना, अमलेखगंज, रतनपुरलगायत साविकका गाविसभित्रका जमिनको सबै काम यहीँबाट हुँदै आएको छ । यद्यपि धितो फुकुवाका लागि एउटै कार्यालयको सेवा लिन अन्यत्र पठाउने कार्यले सेवाग्राही आक्रोसित देखिएका हुन ।यस्तो गर्मीको याममा २२ किलोमिटर टाढाबाट सेवा लिन पुग्नुभएकी गोलेले सोही सेवा लिन फेरि कलैया धानुपर्ने भएपछि सिमरा कार्यालयको काम प्रभावकारी हुन नसकेको भनेर गुनासो गर्नुभयो ।
सिमराबाट कलैया पुग्न अझै एकतर्फि २५ किलोमिटर दुरी पार गर्नुपर्छ । यातायातको सहजता कमजोर छ । यस्तोमा गोलेलाई धितो फुकुवा र रोक्का गर्न थप दुई दिन लाग्ने भएको छ ।


















