मध्य तराईका जिल्लाहरु उखु उत्पादनका हिसावले महत्वपूर्ण छन् । बारा सहितका केही जिल्लामा त चिनी मिल नै छन् यद्यपि वीरगञ्जमा पनि चिनी मिल थियो तर सरकारले नै त्यो चिनी मिललाई ध्वस्त बनाइ दियो र आजको त्यसको अवशेष मात्र बाँकी छ । अब वीरगञ्ज चिनी कारखानाको कुरा गरेर पनि अर्थ छैन । यो बनेर फेरि उखु पेल्ने भन्ने कुरा चैं अहिलेका लागि गफ नै हो । बरु भएका चिनी मिलहरुलाई व्यवस्थित बनाउन आवश्यक देखिन्छ अनि त्यसका लागि उखुको उत्पादन अपरिहार्य छ ।बारा र पर्सामा उखु खेती पहिला धेरै गर्ने गरिन्थ्यो तर वीरगन्ज चिनी मिल बन्द भएपछि सुस्त रहेको उखु खेती फेरि अहिले कृषकहरुले व्यवसायिक रुपमा गरिरहेको देखिन्छ तर उखु खेती गरेका कृषकहरु भने संधै पीडामा रहनु परेको छ । अहिले उखु क्रसिंगको पनि समय भएको छ तैपनि कृषकहरु प्रताडित बन्ने क्रम रोकिएको भने छैन । कृषकहरुलाई यस्तो लागेको छ कि, उखु खेती गर्नु नै अभिषाप हो ।सरकारहरुका मन्त्रीहरुले भाषणमा कृषकहरुको कुरा जोडतोडले उठाइ रहेको पनि देखिन्छ तर कृषकहरुकै विषय सरकार उदार भएको पटक्कै छैन । बल्लबल्ल मेहनत गरेर उखु खेती गर्यो अनि भुक्तानी लिने बेलामा यस्तै समस्या अनि क्रसिंगको बेलामा उस्तै समस्या । उखु नगदे बाली हो । यसको व्यापक विस्तार र बिकास हुन जरुरी छ तर हुन सकेको छैन । जसका कारण उखु कृषकहरुसंगै पीडित बन्नु परेको छ ।

















