कलैया,नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन, रोजगारी र कृषि क्षेत्रको सुधारलाई केन्द्रमा राख्दै सरकारको कार्यशैलीप्रति कडा टिप्पणी गर्नुभएको छ ।
बाराको प्रसौनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खेती गर्ने समयमै किसानले सहज रूपमा मल पाउनुपर्ने र वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेशमै रोजगारीको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।वर्तमान राजनीतिक अवस्थाप्रति प्रश्न उठाउँदै सभापति थापाले ३२ सिट मात्र प्राप्त गरेको दलले सरकार गठन कसरी ग¥यो भनी जिज्ञासा राख्नुभयो । विकास आयोजनामा हुने ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले निजगढ काठमाण्डौं जोड्न ’फास्ट–ट्र्याक’ तीन वर्षमा सम्पन्न हुनुपर्नेमा १० वर्षसम्म किन लम्बिएको भनी प्रश्न गर्नुभयो ।
२०४६ सालपछिका आन्दोलनले जनताको अपेक्षाअनुसार सुशासन दिन नसकेको उहाँको भनाइ थियो । “विकासको गति बढेको दाबी गरिए पनि पारदर्शिता र जवाफदेहिता कमजोर छ । सुशासनबिना विकासको अर्थ हुँदैन,” उहाँले भन्नुभयो । भ्रष्टाचार नियन्त्रणका लागि उच्च तहबाटै सम्पत्ति छानबिन हुनुपर्ने धारणा राख्दै उहाँले २०४६ सालपछिका सबै प्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्न माग गर्नुभयो । “पहिलो पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र त्यसपछि दोस्रो नम्बरमा मेरो सम्पत्ति छानबिन होस्,” उहाँले चुनौतीपूर्ण शैलीमा भन्नुभयो ।

युवाको रोजगारीलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उहाँले पाँच लाख युवालाई तत्काल रोजगारी उपलब्ध गराउने लक्ष्य राख्नुपर्ने बताउनुभयो । साना तथा ठूला व्यवसायी ऋणका कारण कालोसूचीमा पर्ने अवस्था अन्त्य गर्न राज्यले नीतिगत सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । भदौ २४ गते जस्ता दुःखद घटना पुनः नदोहोरिओस र कुनै पनि युवाले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने कामनासमेत उहाँले व्यक्त गर्नुभयो ।
सो अवसरमा बारा निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार श्यामबाबुप्रसाद गुप्ता, क्षेत्र नं ३ का उम्मेदवार फरमुल्लाह मन्सुर र क्षेत्र नं २ का उम्मेदवार भैयाराम प्रसाद यादवले पनि आफ्ना धारणा राख्नुभएको थियो । कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै जनजीविकासँग जोडिएका मुद्दालाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिरहेको जनाएको छ ।यसअघि सभापति थापाले बारा क्षेत्र नम्बर १ को कोल्हबीमा आयोजित सभामा पनि शंवोधान गर्नुभएको थियो ।
उमाकान्तको अनुपस्थितिले कांग्रेसमा निराशा
कोल्हबी,नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी कोल्हबीको चुनावी सभामा सोही पार्टीका पूर्वसहमहामन्त्री उमाकान्त चौधरी अनुपस्थित भएपछि कांग्रेसभित्रको अन्तरविरोध सतहमा देखिएको छ ।
बारा क्षेत्र नम्बर १ ले आज कोल्हबी बजारमा आयोजना गरेको चुनावी सभाको मञ्चमा चौधरी नदेखिएपछि कांग्रेस कार्यकर्ता र मतदाताहरु निराश देखिएका छन । कांग्रेस नेता कृष्ण सिटौला निकट मानिने नेता चौधरी विशेष महाधिवेशनपछि बारा क्षेत्र नम्बर १ को टिकट वितरणमा समेत असन्तुष्ट हुनुहुन्छ । चौधरी सो क्षेत्रबाट आफै टिकटको दाबेदार हुनुहुन्थ्यो । तर कांग्रेसले विशेष महाधिवेशन पक्षधर सभापति गगन थापा निकट शम्भुबहादुर बुढाथोकीलाई टिकट दिएपछि चौधरी असन्तुष्ट बन्दै आउनुभएको हो ।
थारु समुदायमा राम्रो प्रभाव राख्ने नेता चौधरी पार्टीको कार्यक्रममा अनुपस्थित रहेपछि कांग्रेस उम्मेदवार बुढाथोकीको लागि यस पटकको निर्वाचन असहज हुने अनुमान गरिएको छ । नेता चौधरीको मौनताले कांग्रेसको परम्परागत भोट बैङ्क मानिने चेरवन्त क्षेत्रमा नै बुढाथोकीको पक्षमा कम मत पर्ने अनुमान गरिएको छ । चौधरीको अनुपस्थितिले कार्यक्रममा उपस्थित हजारौं कार्यकर्तामा उत्साहभन्दा बढी चिन्ता देखिएको सहभागीहरूले बताएका छन् ।चुनावी कार्यक्रममा नेता चौधरीको निष्कृयताले स्थानीय थारु तथा आदिवासी समुदायका मतदाताहरू नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार भुवनप्रसाद चौधरी, नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमाल र जनता समाजवादी पार्टीका रामबाबु यादवको पक्षमा लाग्ने अनुमान गरिएको छ ।



















