वीरगञ्ज, – लामो समयदेखि प्रतीक्षामा रहेको वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नति प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । सडक विभागले त्रिभुवन राजपथअन्तर्गत पर्साको वीरगञ्जस्थित मितेरी पुलदेखि गण्डक चोकसम्मको करिब ८ किलोमिटर सडक विस्तारका लागि दुई प्याकेजमा ठेक्का आह्वान गरेपछि सडक विस्तार प्रक्रिया सुरु भएको हो ।
सडक डिभिजन कार्यालय हेटौँडाले जारी गरेको सूचनाअनुसार कुल ८.०५४ किलोमिटर सडक स्तरोन्नतिका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति २०८३ कात्तिक २० गते दिउँसो १२ बजेसम्म तोकिएको छ । सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ भने इच्छुक निर्माण व्यवसायीका लागि कात्तिक ९ गते बिहान ११ बजे प्रि–बिड बैठक आयोजना गरिनेछ ।
पहिलो खण्डका लागि बोलपत्र जमानत रकम ६ करोड रुपैयाँ र दोस्रो खण्डका लागि ५ करोड ५० लाख रुपैयाँ तोकिएको छ । दुवै खण्डको बोलपत्र जमानत रकम जोड्दा ११ करोड ५० लाख रुपैयाँ पुग्छ । यद्यपि, आयोजनाको कुल निर्माण लागत भने सूचनामा खुलाइएको छैन ।
सडक विस्तार तथा स्तरोन्नति कार्यलाई दुई खण्डमा विभाजन गरी बोलपत्र आह्वान गरिएको हो । पहिलो प्याकेजअन्तर्गत मितेरी पुलदेखि घण्टाघरसम्म र दोस्रो प्याकेजअन्तर्गत घण्टाघरदेखि गण्डक चोकसम्मको सडक निर्माण गरिनेछ ।
योजनाअनुसार वीरगञ्जको मुख्य बजार क्षेत्र इदगाह चोकदेखि पावर हाउससम्म सडकको बिच भागमा चार लेनको सडक निर्माण गरिनेछ । सडकको दुवैतर्फ साइकल लेन र फराकिलो फुटपाथको व्यवस्था गरिने छ ।
त्यसैगरी, मुख्य बजार क्षेत्रबाहिर सर्भिस लेनसहितको ६ लेनको सडक निर्माण गर्ने योजना छ । सडकका दुवै किनारमा दरबारमार्गको शैलीमा ग्रेनाइट ढुङ्गा बिछ्याएर फुटपाथ निर्माण गरिनेछ ।
पहिलो चरणमा २०८३ वैशाख ६ र ७ गते तथा दोस्रो चरणमा २०८३ असार १८ देखि भदौ ३१ गतेसम्म सडकको सीमाक्षेत्र खाली गराइएको थियो ।
आयोजना ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सो सडक निर्माण कार्य सम्पन्न भएपछि वीरगञ्जको मुख्य सडकमा यातायात व्यवस्थापन सहज हुनुका साथै पैदलयात्री र साइकल यात्रुका लागि पनि सुरक्षित आवागमनको सुविधा थपिने बताइएको छ ।
















