जनकपुरधाम,मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बारा–पर्सामा औद्योगिक कोरिडोर घोषणा गर्न संघीय सरकारसँग छलफल गरिने बताउनुभएको छ ।शनिवार नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका प्रतिनिधिमण्डलसँग भएको भेटमा मुख्यमन्त्री सिंहले सो कुरा बताउनुभएको हो । उहाँले बारा–पर्सा औद्योगिक कोरिडोर घोषणा गर्न प्रदेश सरकारले योजनाबद्धरुपमा काम गरिरहेको पनि बताउनुभयो । मुख्यमन्त्री सिंहले आवश्यकताका आधारमा संघीय सरकारसंग समन्वय गर्ने पनि बताउनुभयो । “कानुनसम्मत भएको खण्डमा बारा–पर्सा औद्योगिक कोरिडोरको घोषणा प्रदेश सरकारले गर्नेछ । यो विषयमा सरोकार भएकासँग आवश्यक छलफल गरी निर्णय गर्नेछौँ ।” उहाँले भन्नुभयो ।
मुख्यमन्त्री सिंहले प्रदेशमा रहेका औद्योगिक, वाणिज्य क्षेत्रको विकास गर्दै व्यवसायीको मनोबल उच्च बनाउन प्रदेश सरकारले सधैँ सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

उद्योगको आवश्यकता र अपेक्षाअनुसार दक्ष कामदार उत्पादन गर्न प्रदेश सरकारले सीपमूलक तालिम दिने योजना बनाइरहेको जानकारी दिदै उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ नियमित र सहजरुपमा आपूर्तिको व्यवस्था गर्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । “यहाँका सिमेन्ट उद्योगले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न नसकिरहेको विषयमा अध्ययन टोली गठन गर्नेछौँ”, मुख्यमन्त्री सिंहले भन्नुभयो ।प्रदेश सरकार इ–गभर्नेन्समा जान लागेको भन्दै उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमार्फत औद्योगिक क्षेत्रको प्रवर्द्धन गर्न प्रविधिसँग जोड्ने तयारी भइरहेको मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो ।बारा र पर्साका उद्योगी, व्यापारीको प्रतिनिधित्व रहेको महासङ्घको टोलीले प्रदेशको समृद्धिका लागि कृषि, पर्यटन, उद्योग क्षेत्रका चुनौती र सम्भावनाका बारेमा मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण गराएका थिए ।

Leave a Reply