बालुवाढुङ्गा ढुवानीका क्रममा भएको लापरवाहीले सडक भत्कीन थाल्यो
पुष्पराज खतिवडा
बारा
१ जेष्ठ २०७८
मानमत कलैया सडकखण्डमा गुड्ने सवारीको लापरवाहीका कारण ठाउँठाउँमा सडक भत्कीन थालेको छ । निर्माण सम्पन्न भएको ३ बर्ष समेत नपुग्दै यो सडक ठाउँठाउँमा भत्कीन थालेको छ । विशेष गरी यस क्षेत्रमा संचालित आधा दर्जन क्रसरहरुले बालुवाढुङ्गा ढुवानीका क्रममा गरेको लापरवाहीका कारण सडक जोखिम बढेको स्थानियले बताएका छन् ।
खोलाबाट निस्कीएका बालुवाढुङ्गाका टिपर तथा टेक्टरले सडकमा पानी चुहाउँदै र ढुङ्गा झार्दै हिन्ने गर्दा सडकको आयु दिन प्रतिदिन घट्दै गएको हो । सडक विग्रिन र भत्कीन थालेका कारण दिनहुँ जसो सडक दुर्घटना समेत हुँदै आएको छ । दुर्घटनामा परिजनधनको क्षेती हुँदै आएको छ ।
सडकमा टिपरको लापरवाही हुँदा समेत निमयमन गर्ने निकाय ट्राफिक प्रहरी मुखदर्शक हुने गरेको पाईएको छ । बालुवाढुङ्गा ढुवानी गर्दा पानि चुहाएको पाईए कार्वाही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक विपिनि ओझाले बताए । तर प्रहरीकै अगाडी पानी चुहाउँदै र ढुँङ्गा झार्दै टिपरहरु हिन्दा समेत उनीहरुलाई कार्वाही गर्नुको साटो नजराना लिने गरको पाईएको छ । सडकमा पानि झार्ने सवारीलाई १ हजार ५ सय सम्म जरिवाना गर्ने नियम भएको जनाउने प्रहरीले कार्वाही भने गरेको पाईदैन । यद्यपी भोलीबाट कडाई गर्ने निरिक्षक ओझाले प्रतिवद्धता जनाए ।
मानमत कलैया सडक खण्डमा दैनिक ४५ वटा टिपर गुड्ने गरेको र उनीहरुले प्रतेक दिन १० देखी १२ टिप गर्ने गरेको जितपुरसिमरा उपमहानगरपालिका कर्मचारी नवराज आचार्यले बताए । उनका अनुसार टिपरले ४४० सेप्टी र टेक्टरले १०० सेप्टी बालुवा एकटिपमा ढुवानी गर्ने गर्दछन् । कोरोना महामारी र निषेधाज्ञाका विचमा समेत निर्वाध रुपमा बालुवाढुङ्गा निकासी भैरहेको उनले बताए ।