सिमरा, ३० असोज÷बाराको जीतपुरसिमरामा आयोजित ‘प्रथम जीतपुरसिमरा म्याराथन प्रतियोगिता–२०८३’ शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ ।
खस आर्य समाज नेपालको आयोजना तथा बिहानी ग्रुप र भूतपूर्व सैनिकको सहकार्यमा सम्पन्न उक्त म्याराथनमा करिब दुई सय जना धावकहरूको सहभागिता रहेको थियो । सिमरास्थित रामजानकी मन्दिरबाट सुरु भएको म्याराथन पथलैया पुगेर पुनः रामजानकी मन्दिरमै फर्किएर टुङ्गिएको हो ।
प्रतियोगिताअन्तर्गत ३५ वर्षमाथिको पुरुषतर्फ राजेन्द्र बम्जन प्रथम, चिरञ्जीवी पोखरेल दोस्रो र कुमार थापा तेस्रो स्थान हासिल गर्न सफल भए । त्यसैगरी महिलातर्फ रीना तामाङ प्रथम, जनकी खड्का दोस्रो तथा मीना श्रेष्ठ तेस्रो भइन् । ६० वर्षमाथिको उमेर समूहमा भने गंगाप्रसाद मैनालीले प्रथम स्थान हासिल गरे । प्रतियोगिताका उत्कृष्ट विजेताहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा पदकद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य देवनारायण चौधरीले खेलकुदले स्वस्थ जीवनशैली, अनुशासन र आपसी सद्भाव बढाउनुका साथै नयाँ प्रतिभा पहिचानमा सहयोग पु¥याउने बताए ।
खस आर्य समाज नेपालका अध्यक्ष शरद पराजुलीको अध्यक्षतामा सम्पन्न सो समारोहमा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य रामचन्द्र न्यौपानेले दिएका थिए भने सञ्चालन रविन्द्र खकुरेलले गरेका थिए ।

Leave a Reply