राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिकाले लाभग्राहीहरुको सहजताका लागि सामाजिक सुरक्षा भत्ता वितरण गर्न वडामा शिविर संचालन गरेको छ । एनआइसी एशिया बैंक लंगडि शाखाको समन्वयमा गाउँपालिकाले वडा कार्यालयमै शिवीर सन्चालन गरेर भत्ता वितरण गर्न थालेको हो । पालिकाले वडामै पुगेर भत्ता वितरण गर्न थालेपछि यसले आफुहरुलाई धेरै राहत पुगेको भन्दै ज्येष्ठ नागरिकले खुशी व्यक्त गरेका छन् । अब बैंकमा पुगेर दिनभर लाइन बस्नुपर्ने बाध्यता पनि हटेको उनीहरुले प्रतिक्रिया दिएका छन् ।
जेष्ठ नागरिक र अपांगता भएकाहरूलाई बैंकमा घण्टौँ लाइन बस्नुपर्ने सकसपुर्ण अवस्थाको अन्त्य गर्न वडा वडाबाटै बैंकमार्फत सामाजिक सुरक्षा भत्ताको रकम वितरण थालिएको धोबिनी गाउँपालिकाका अध्यक्ष मदन चौहानले बताउनुभयो । उहाँले जनताको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि नागरिकको अनुहारमा खुसी देख्दा आफूहरूलाई थप खुसी मिलेको पनि बताउनुभयो ।
बैंकको समन्वयमा लाभग्राहीहरुको सहजताको लागि वडा वडामा पुगेर भत्ता वितरण गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत महमद नवाज हुसेनले बताउनुभयो । उहाँले ५ वटै वडा मै पुगेर शिविरमार्फत सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिने बताउनुभयो । वडा नम्बर १ को वडा कार्यालय भिखमपुरबाट गत सोमबारदेखि सरु भएको समाजिक सुरक्षा भत्ता वितरण शिविरमा हालसम्म एक सय जना लाभग्राहीहरुलाई रकम वितरण गरिसकिएको भिखमपुरका वडा सचिव अशोक पटेलले जानकारी दिनुभयो ।
शिविरमा जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, जेष्ठ नगारिक एकल महिला र क तथा ख वर्गका अपाङ्ग लाभग्राहीहरुलाई भत्ता वितरण गर्न थालिएको उहाँले वताउनुभयो । वडा नं. १ देखि ५ सम्मका सम्पुर्ण दलित बालवालिका (सामाजिक सुरक्षा भत्ता लाभग्राही) हरु र शिविरबाट सामाजिक सुरक्षा भत्ता रकम प्राप्त गर्न छुट भएका लाभग्राहीहरुले एनआइसी एसिया बैंक शाखा कार्यालय लंगडीबाट कार्यालय समयमा भत्ता प्राप्त गर्न सक्ने गाउँपालिका कार्यालयले जनाएको छ ।


















