पुष्पराज खतिवडा
बारा,सामान्य परिवारमा जन्मिएकी संघर्षशिल महिला हुन ज्वालाकुमारी साह । जनताको सर्वोपरी हितका लागि संघर्षरत साह आगामी फागुन २१ गते हुने निर्वाचन केन्द्रित अभियानमा यतिवेला सक्रिय हुनुहुन्छ । नेकपा एमालेबाट बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य उम्मेदववार साह निरन्तर मतदाता भेटघाटमा व्यस्त हुदैआउनुभएको छ ।
उहाँको भेटघाटमा मतदाताहरुको उत्साहजनक सहभागीता देखिएको छ । जनभेटघाटमा रहेकी पूर्वसांसद साह भन्नुहुन्छ, “बाराको माटोमा जन्मिएर, यहाँकै धुलो र हिलोमा संघर्ष गर्दै आइरहेकी छु । मैले यस अघि सांसद, मन्त्री हुँदा होस् या नहुँदा समेत सधैँ जिल्लाको विकासमा यहाँका किसान, सुकुम्बासी, महिला, दलित, विपन्न, यूवा, व्यवसायीहरुको पीडालाई शिरमा राखेर काम गरेँ । तर, अझै धेरै कामहरू बाँकी छन् । हाम्रा खेतहरूमा सधैँ पानी पुर्याउनु पर्नेछ । हाम्रा युवाहरूलाई खाडी जानबाट रोकेर यहीँ रोजगारी सिर्जना गर्नुछ । हाम्रा छोरीहरूलाई निर्धक्क भएर हिँड्न सक्ने र शिक्षित बन्ने वातावरण बनाउनु छ ।”
उहाँ थप्नुहुन्छ, “सुकुम्बासी समस्या समाधान र टाँगियावस्तीका जनताको चाहना अनुसार उचित व्यवस्थापन गर्नुछ । अरूले आश्वासन बाँड्छन्, तर म अनुभव र एजेन्डा लिएर आएको छु । यसअघि सांसद र मन्त्री हुँदा मैले नीति बनाउने भुमिका निभाएँ । अब तपाईंहरूको प्रतिनिधि भएर ती नीतिहरूलाई तपाईंको हकहितमा लागू गर्न चाहन्छु । मेरो प्रतिवद्धता भ्रष्टाचारमुक्त प्रशासन र विकासको निरन्तरता हो ।”
चरम गरिबी, अभाव, पिडासँगै हुर्किएकी ज्वालाले देशको यथास्थितिलाई चिर्न गरेका योगदान कमजोर छैनन् । २०६४ बाट माओवादीको सशस्त्र संघर्षमा होमिनुभएकी उहाँ पटकपटकको आक्रमणमा जोगिन सफल हुनुभएको थियो ।
सोही क्रममा मधेशमा व्याप्त जातियताका विरुद्ध विगुल फुक्ने महिला समेत बन्नुभयो । सशस्त्र संघर्षका क्रममै पहाडी समुदायका अमृत शर्मा बजगाँईसँग विवाह भयो । यो विवाहले मधेशी र पडाही बीचको दुरी घटाउन ठुलो भूमिका खेल्यो ।
सक्रिय राजनितिमा रहनुभएकी साह २०६४ मा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बन्नुभएको थियो । पहिलो पटक साँसद हुँदै २०६७ मा भूमिसुधार तथा २०६८ मा पर्यटन राज्यमन्त्री बन्नुभयो ।संविधानसभा निर्वाचनपछि २०७४मा भएको प्रादेशिक निर्वाचनमा बारा क्षेत्र नं. ३ क बाट निर्वाचित उहाँले यस क्षेत्रको विकासमा उल्लेखनीय योगदान गर्नुभयो । सडक, खानेपानी, सिंचाई, शैक्षिक पूर्वाधार लगायत तमाम ग्रामीण समस्या समाधानमा उहाँको मेहनतले जनताको मन जितिरह्यो ।
फलस्वरुप २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सहभागी भई नेकपा एमाले विरुद्धका गठबन्धन घटक समेतलाई पछि पार्दै उहाँ २० हजार २५१ मतले विजय हुनुभयो । सांसदले संसदीय विकास कोष चलाउन नपाउने अवस्थामा समेत उहाँ जनसेवाका लागि लागिरहनुभयो । विभिन्न सरकारी निकायहरुसँगको सहकार्यमा किसानका खेतमा सिँचाई व्यवस्थापन, कृषि बजारलाई चाहिने सेड निर्माण, ग्रामीण सडक पूर्वाधारको स्तर उन्नतिमा उल्लेखनीय काम गर्नुभयो ।
बुवा खेदु साह कानु र आमा श्रीपती देवी साह कानुका जेठी छोरीका रुपमा २०३८ सालमा उहाँको जन्म भएको हो । किसान आन्दोलनका क्रममा बुवा जेल परेका बेला आमा श्रीपती देवी वीरगञ्ज कारागारमा रहेका आफ्ना पती भेट्न गएका बखत ज्वालाको जन्म भएको हो ।
उहाँको परिवारमा पहिलेदेखि नै राजनीतिक चेतना र सक्रियता रहेको थियो भन्ने देखिन्छ । उहाँका बुवा र आमा दुवै तत्कालीन नेकपा मालेसँग आवद्ध हुनुहुन्थ्यो । जसले गर्दा ज्वालालाई सानै उमेरदेखि राजनीतिमा लाग्न प्रेरणा मिल्यो ।माओवादीसँग रहँदा १२ वर्षको उमेरदेखि सक्रिय लडाकु बन्नुभयो ज्वाला । उहाँले आफ्नो सुरक्षाको कारण धेरै वर्ष भूमिगत जीवन बिताउनुभएको थियो । सोही क्रममा उहाँको विवाह पार्टीका सहकर्मीसँग भयो । उहाँका तीन छोरा छन् ।
उनीहरूले सामान्य फूल साटासाट गरेर साधारण विवाह गरेका थिए । पहाडी यूवा र मधेशी महिला विचको क्रान्तिकारी विवाहले आफन्त र गाउँलेहरू छक्क परेका थिए । हामीले एकअर्कालाई माया गर्यौं । विवाह गर्ने निर्णय गर्यौं । हामी खुसी र सरल जीवन बिताउँदैछौं । साहले सुनाउनुभयो ।सरल र मिजासिलो स्वभावकी साहले यसपकटको निर्वाचनबाट फेरी पनि जीत निकाल्ने बताउनुभएको छ ।

















