कलैया,जिल्ला प्रशासन कार्यालय बाराले फागुपूर्णिमा (होली) पर्वलाई मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन जिल्लाबासीमा अपिल गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई समेत ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालयले यस वर्षको होलीमा सुरक्षा व्यवस्थामा थप कडाइ गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्वारा जारी सूचनामा होली मनाउँदा निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्न उल्लेख गरिएको छ । होली मनाउने क्रममा कुनै पनि राजनीतिक दलको चुनाव चिन्ह, उम्मेदवारको फोटो वा निर्वाचनलाई प्रभाव पार्ने खालका लोगो अंकित टिसर्ट र प्रचार सामग्रीको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको सुचनामा उल्लेख छ ।
प्रशासनले होलीको दिन भिडभाड हुने कुनै पनि कार्यक्रम गर्न नपाउने जनाएको छ । कसैको इच्छा विपरीत रङ दल्ने, लोला हान्ने र बाटोमा हिँड्ने मानिसलाई अवरोध पु¥याउने कार्यलाई प्रशासनले निषेध गरेको छ ।

पर्वका नाममा मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने (मापसे) र सार्वजनिक स्थलमा होहल्ला गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गरिनेछ । त्यसैगरी, चर्को आवाजमा डिजे बजाउन र आतसबाजी वा पटका पड्काउन समेत रोक लगाइएको छ ।

बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले सम्भव भएसम्म आफ्नो घरपरिवार र नजिकका आफन्तहरूसँग मात्र होली मनाउन र ठूला सार्वजनिक जमघटबाट टाढा रहन पनि आग्रह गरेको छ ।कार्यालयले आग्रह उल्लंघन गर्ने व्यक्ति वा समूहलाई कानुन र निर्वाचन सम्बन्धी कानुन बमोजिम कडा कारबाही गरिने प्रशसनले जनाएको छ ।

Leave a Reply