कलैया,बारामा नेपाल प्रहरीका एक अधिकृतको साथबाट सरकारी पेस्तोल हराएपछि मधेस प्रदेश प्रहरी कार्यालयले घटनाको छानबिन तीव्र पारेको छ ।कार्यालयले इलाका प्रहरी कार्यालय कबहीका प्रमुखसमेत रहेका प्रहरी नायब निरीक्षक (सई) सोनुकुमार मिश्रले बोकेको ९ एमएमको पेस्तोल रहस्यमय रूपमा हराएपछि घटनाको छानबिन तीव्र पारिएको हो ।
घटनापछि मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले कबहीमा कार्यरत सईदेखि कार्यालय सहयोगीसम्मका १२ जना प्रहरीलाई अनुसन्धानका लागि प्रदेश कार्यालयमा तानेको हो । सो स्थानमा नयाँ प्रहरी टोली खटाइएको छ । घटना गत पुस ११ गतेको भएको र सई मिश्रले राति गस्तीका क्रममा हतियार हराएको बताएका छन् । तर घटनाबारे दिएको बयान अस्पष्ट देखिएपछि प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको निर्देशनमा एसपी भेषराज रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।
छानबिन समितिले सबै प्रहरीलाई अलग–अलग राखेर सोधपुछ सुरु गरेको जनाएको छ । सीमा क्षेत्रमा तस्कर समूहको संलग्नता हुन सक्ने आशङ्कामा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीले घटनामा दोषी देखिए जोसुकै भए पनि कडा विभागीय तथा कानुनी कारबाही गर्ने तयारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा मातहतको इलाका प्रहरी कार्यालय कवहीगोठमा कार्यरत प्रहरी नायब निरीक्षक सोनुकुमार मिश्रले ड्युटीकै क्रममा बोकेको सरकारी ‘नाइन एन’ पेस्तोल तस्कर समूहले खोसेर लगेको बताइएको छ । पुस ११ गते शुक्रवार साँझ तस्करी नियन्त्रणका क्रममा पेस्तोल ताक्ने बित्तिकै तस्करहरूले सइ मिश्रको हतियार थुतेर फरार भएको स्रोतको दाबी छ ।
एक साताअघि भएको सो घटना सार्वजनिक भएपछि प्रहरीले पेस्तोल लुटिएको एक सातापछि मात्रै छानबिन अघि बढाएको हो ।घटनाको एक साताभन्दा बढी समय बितिसक्दा पनि लुटिएको पेस्तोल अझै फेला परेको छैन । तस्कर समूह प्रहरीको हतियार लिएर खुलेआम हिँडिरहेको आशङ्का गरिए पनि प्रहरीले हालसम्म हतियार बरामद गर्न नसकेको हो ।गत वर्ष वैशाखमा पनि बाराको इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा कार्यरत सई पूर्ण बिसीको अटोमेटिक पेस्तोल हराएको थियो ।


















