निजगढ,निजगढ फुटबल क्लब (एनएफसी) का अध्यक्ष तथा भेट्रान्स खेलाडी शम्भु थापा मगरको निधन भएको छ ।निजगढ– ४ स्थित पुरानो निजगढको खेल मैदानमा भइरहेको स्कुलस्तरीय फुटबल प्रतियोगिताको निरीक्षण गर्ने क्रममा शनिबार उहाँ अचानक मैदानमै ढल्नुभएको थियो ।
दिउँसो करिब २ बजे मैदानमै बेहोस भएपछि उहाँलाई तत्काल निजगढस्थित सिटी अस्पताल लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा रेफर गरिएकोमा उपचारका क्रममा चिकित्सकहरुले उहाँलाई मृत घोषणा गरेका थिए ।
बाल्यकालदेखि नै खेलप्रति रुची राख्दै आउनु भएका थापा लामो समयसम्म निजगढको फूटबल टोलीको नेतृत्व गरेर जिल्ला र अञ्चल स्तरका प्रतियोगिताहरुमा सहभागी हुनुभएको थियो । थापाको निधनले निजगढको फुटबलमा अपुरणीय क्षेति पुगेको छ ।


















