बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित जीतपुरसिमरा नगर अस्पतालको नवनिर्मित भवनबाट सोमबारदेखि बहिरङ्ग (ओपीडी) सेवा सञ्चालनमा आएको छ। अस्पतालले विशेषज्ञ चिकित्सकसहित ३५ जना नयाँ स्वास्थ्यकर्मी थप्दै सेवा विस्तार गरेको हो।
उपमहानगरपालिकाले अस्पताललाई व्यवस्थित र सुविधासम्पन्न बनाउने उद्देश्यले चारतले भवन निर्माण गरेको हो। नयाँ भवनबाट सेवा सुरु भएपछि बिरामीको चाप व्यवस्थापन गर्न तथा स्थानीयलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अस्पतालमा एक जना सर्जन, एक जना बालरोग विशेषज्ञ र पाँच जना मेडिकल अधिकृतसहित ३५ जना स्वास्थ्यकर्मी नियुक्त गरी परिचालन गरिएको छ। यसअघि हाड तथा जोर्नीरोग विशेषज्ञका रूपमा कार्यरत डा। नवनीत रौनियारले अस्पतालमै दर्जनौँ शल्यक्रिया सफलतापूर्वक गरिसकेको जनाइएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रौनियारका अनुसार नयाँ भवनको भुइँतला मात्रै तयार भएकाले तत्काल ओपीडी सेवा सुरु गरिएको हो। पुरानो भवनले बिरामीको चाप धान्न नसकेको र नयाँ नियुक्त विशेषज्ञ चिकित्सकका लागि कोठा अभाव भएपछि नयाँ भवनबाट सेवा विस्तार गरिएको उनले बताए। भवनबाट सेवा सुरु भए पनि औपचारिक उद्घाटन भने भइनसकेको उनले स्पष्ट पारे।
अस्पतालले दन्त सेवा, बालरोग विशेषज्ञ सेवा, फिजियोथेरापी तथा प्रयोगशालामा एनालाइजर प्रविधिको प्रयोगलगायत सेवा पनि विस्तार गरेको छ। हाड तथा जोर्नीसम्बन्धी उपचार र शल्यक्रिया अस्पतालमै उपलब्ध हुन थालेपछि स्थानीय नागरिकले उपचारका लागि वीरगञ्ज र भरतपुरजस्ता सहर धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
यसैबीच, उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रविकुमार भास्करले नवनियुक्त स्वास्थ्यकर्मीलाई अस्पतालका कमीकमजोरी पहिचान गरी सेवा सुधारमा सक्रिय हुन आग्रह गरेका छन्। बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक राय–सुझाव दिनसमेत उनले स्वास्थ्यकर्मीलाई अनुरोध गरेका छन्।
नयाँ भवन र थप स्वास्थ्यकर्मीको व्यवस्थापनसँगै नगर अस्पताललाई स्थानीयस्तरमै भरपर्दो स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्ने उपमहानगरपालिकाको लक्ष्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
















