कलैया,बाराको सुवर्ण गाउँपालिकाले आर्थिक चलखेलमा परेर लक्षित वर्गको कार्यक्रम संचालन गरेको स्थानीयहरुले गुनासो गरेका छन ।
आर्थिक वर्ष २०७७÷०७८ को माघ महिनामा गाउँपालिकाले गैरसरकारी संस्थामार्फत प्रकृया पूरा नगरी ४० प्रतिशतसम्म कमिसन लिएर कार्यक्रम संचालन गरेको सुवर्ण गाउँपालिका वडा नम्बर ४ औरिया निबासी राकेश साहले बताउनुभयो । पालिकाले नियम विपरित सूचना नै प्रकाशित नगरी गैरसरकारी संस्थालाई कार्यक्रम संचालन गर्न दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीबास्तव र समाजिक बिकास शाखा प्रमुख संजिव रामले आर्थिक प्रलोभनमा परेर लक्षित वर्गको कार्यक्रम आफ्ना आसेपासे संस्थामार्फत संचालन गराउनुभएको थियो ।
माघ १२ गते सुवर्ण गाउँपालिकाले पहिलो चरणमा लक्षित वर्गको कार्यक्रम संचालनको लागि प्रस्तावना अह्वान गरेको जनाए पनि सो दिनको पत्रिका नै बजारमा नआएको र गुपचुपमा विभिन्न संघसंस्थामार्फत सम्झौता गरि कार्यक्रम संचालन गरेको थियो । गाउँपालिकाबाट भएको अनियमिताको बारेमा विभिन्न संचार माध्यममा समाचार सार्वजनिक हुदै आएको भएपनि कारबाहीको लागि सम्बन्धित निकायले हालसम्म चासो देखाएको छैन ।
लक्षित वर्गको लागि सबै वडामा संचालन गर्नु पर्ने जनचेतनामूलक कार्यक्रम केही वडामा संचालन गरिएको भएपनि कार्यक्रम प्रभावकारी नभएको नेकपा माओवादीका स्थानीय युवा नेता भगवान गिरीले बताउनुभयो । गैरसरकारी संस्थाहरुले झारा टार्ने हिसाबले कार्यक्रम संचालन गरेको र रकम हिनामिना गरेको उहाँको भनाइ छ । कार्यलयका प्रमुख नवीन श्रीबास्तवले युवा साझेदारी केन्द्र, जनमुखी सेवा नेपाल, ग्रामीण उत्थान केन्द्र बारालगायत दर्जनौं संस्थाबाट कमिसन संकलन गरि कार्यक्रम संचालन गराउनुभएको हो ।
त्यसैगरी आर्थिक वर्ष ०७७÷०७८ सकिन लाग्दा श्रीबास्तवले असारको अन्तिममा आर्थिक प्रलोभनमा परेर दोस्रो चरणको कार्यक्रम पनि संचालन गरिएको भेटिएको छ । सुवर्ण गाउँपालिकाले कार्यक्रम अन्तर्गत सिपमुलक सिलाई कटाई तालिम, अगरबत्ति बनाउने तालिम, बाल अधिकार सम्बन्धी तालिम, महिला हिंसा न्यूनीकरणलगायतका तालिम संचालन गर्नुपर्ने थियो । तर रकम हिनामनिा भएका कारण गाउँपालिकाले संचालन गरेको कुनै पनि कार्यक्रम प्रभावकारी नभएको स्थानीयहरुले गुनासो गरेका छन । आर्थिक वर्षको अन्तिममा दोस्रो चरणको कार्यक्रम संचालन गर्न विभिन्न संस्थामार्फत संझौैता गरिएको समाजिक बिकास शखा प्रमुख संजिव रामले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत श्रीबास्तवले बिगतका वर्षमा पनि आफ्ना आसेपासेका संस्थामार्फत कार्यक्रम संचालन गरेर गाउँपालिकाको ठूलो रकम हिनामिना गरेको बताइएको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा लक्षित वर्गको कार्यक्रम संचालन गर्न करिब १ करोड रकम विनियोजन गरेको थियो । कार्यक्रम संचालनको क्रममा भएको अनियमितता बारेमा थप जानकारी लिन खोज्दा कार्यालय प्रमुख श्रीबास्तवले मोबाइल फोन उठाउन चाहनु भएन ।