पुष्पराज खतिवडा
मनहर्वा,नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाले चुवाहट नियन्त्रणका क्रममा यस वर्ष २९१ वटा कारबाही गरेको छ । सो क्रममा केन्द्रले जरिवानाबापत २६ लाख १७ हजार ८६ रुपैंया राजश्वसमेत असुल गरेको जनाएको छ ।
विद्युतका कर्मचारी र प्रहरीको संयुक्त गस्ती टोलीले अबैध रुपमा विधुत चोरी गरी संचालन गरिएका पानी तान्ने मोटर, पंखा, ग्रेन्डर लगायतका विद्युतीय उपकरण जफत गरेको हो । यससँगै चोरी गरी घरमा विद्युत प्रयोग गर्ने मानिसहरुलाई समातेर जरिवाना गरी छाडिएको प्राधिकरण कलैयाका अनियमिता सुधार फाँटका प्रमुख राहुल मण्डलले जानकारी दिनुभयो ।
प्रमुख मण्डलका अनुसार यस आर्थिक वर्षको गत श्रावणदेखि चैत्र मसान्तसम्ममा २७२ र चालु महिनामा १९ वटा कारबाही भएको हो । जसमध्ये १९ वटा विद्युतीय मिटर गडबड गरी विद्युत चोरी गर्ने छन् । उनीहरुबाट ६ लाख ५३ हजार ४४ रपैंया ९३ पैसा जरिवाना असुल गरिएको छ ।यस्तै ईजाजत बिना विद्युत चोरी गरी प्रयोग भएका ९७ थान उपकरण बरामत गरी जरिवाना गरिएको छ । ती उपकरणको जरिवाना बापत ५ लाख ५१ हजार ८ सय ९ रुपैँया असुल गरिएको जनाइएको छ । यस्तै विद्युत चुहावट गरी घरमा प्रयोग गरिरहेको अवस्थामा १३७ जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएर छाडिएको छ । उनीहरुबाट प्राधिकरण कलैयाले सबैभन्दा धेरै १३ लाख १३ हजार ७२३ रुपैंया संकलन गरेकोछ ।
चालु महिनामा नियन्त्रणमा लिएका १९ थान उपकरणको भने जरिवाना तोक्ने लगायतको काम बाँकी रहेको मण्डलले बताउनुभयो ।
विषेश गरी जिल्लाको दक्षिण तथा पूर्वदक्षिण क्षेत्रमा सबैभन्दा बढी विद्युतको चुहावट हुने गरेको छ । यस क्रममा जिल्लाको सिम्रौनगढ, पिपरपाती पचरौता, कोल्हवी, महानगढीमाई नगरपालिका, देवताल, सुवर्ण, विश्रामपुर, फेटा, प्रसौनी लगायतका गाउँपालिकाकाभित्री गाउँघरमा विद्युत चोरीमा संलग्नलाई कारबाही गरिएको हो ।
गाउँहरुमा विद्युतीय सिँचाई मोटर, पंखा, फ्रिज, ग्रेन्डर, बेल्डर लगायतका धेरै विद्युत खपत गर्ने उपकरणहरु समेत बल्छीको माध्यमबाट विद्युत चोरी गरी संचालन हुने गरेको पाइएपछि कार्यालयले जफत गर्ने गरेको प्राधिकरण कलैयाका अनियमिता सुधार फाँटका प्रमुख मण्डलले जानकारी दिनुभयो ।कलैया वितरण केन्द्रले दैनिक खपत गर्ने २० मेगावाट विद्युतमध्ये ३१ प्रतिशत बिधुत चुहावट हुने गरेको बताईएको छ । चुहावट नियन्त्रणका लागि उपकरण जफत गर्ने मानिसलाई नियन्त्रणमा लिएर जरिवाना कारबाही गर्ने गरिएको प्राधिकरण कलैयाका ईन्जीनियर राजिब साहले बताउनुभयो ।
यसैगरी विद्युत चोरी गर्नु अपराध हो । समयमै विल तिरौं, जरिवानाबाट बाँचौं भन्ने जनचेतना मुलक र सन्देश दिने, प्र्रचार प्रसार, माईकिङ्ग गर्ने जस्ता काम पनि प्राधिकरणले गर्दै आएको छ । ‘यद्यपि चुहावट नियन्त्रण भने घटाउन सकिएको अवस्था छैन ।’ उहाँले भन्नुभयो ।सरकारी कार्यालयहरुले किसानलाई अनुदानमा मोटर वितरण गर्दा सिँचाई मिटर जडान नगरेकाहरुलाई समेत दिनेगरेको पाइएपछि त्यस्ता सरकारी कार्यालयहरुलाई परिपत्र गरेको र परिपत्रमा सिँचाई मिटर लिएकाहरुलाई वा लिएर मात्रै मोटर प्रयोग गर्न लगाउन भनेको पनि उहाँले जानकारी दिनुभयो ।
‘बरामद भएका अधिकांस पानी तान्ने मोटरहरु किसानले स्थानीय पालिका लगायतका विभिन्न सरकारी कार्यालयहरुबाटै अनुदानमा लिएको पाइएपछि यस्तो परिपत्रमार्फत पनि जनचेतनालाई प्रभावकारी बनाउने प्रयास गरेका हौं ।’ ईन्जीनियर साहले भन्नुभयो ।कतिपय पालिकाहरुले सिँचाई मिटर जडान गरेका किसानले खपत गरेको विद्युतको महशुल समेत तिरिदिने निर्णय गरेका छन् । ‘यसबाट पनि चुहावट नियन्त्रणमा सहयोग पुग्ने आशा छ ।’ उहाँले भन्नुभयो ।


















