काठमाण्डौ – नेपाल–चीनको सिमानामा रहको ल्हेन्दे खोलामा आएको बाढीमा परी रसुवामा १८ जना बेपत्ता भएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीमा परी छ जना नेपाली कामदार, छ जना चिनियाँ कामदार, तीन जना प्रहरी र तीन जना गाडी चालक हराइरहेका छन् । बाढीमा फसेका नौ जनाको उद्धार गरिएको छ ।
अहिले ३० देखि ३५ कामदार फसेको, तर उनीहरु सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । रसुवाको गोसाईकुण्ड गाउँपालिका २ मा गएराति वर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै टिमुरेमा रहेको भन्सार कार्यालय परिसर (यार्ड) नै बगाएको हो ।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम
परिसरमा रहेका धेरै गाडी बाढीले बगाएको छ । छिमेकी चीनतर्फ ठूलो पानी परेका कारण बाढी आएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । बाढीले पुल बगाएसँगै रसुवा हुँदै चीनसम्म सडकमार्गको सम्पर्क बिच्छेद भएको छ ।
रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीको पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोपावरमा पनि क्षति पुगेको छ ।त्रिशूली नदीमा दुई वटा शव भेटिए
धादिङ – त्रिशूली नदीको छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव भेटिएको छ । धादिङको गजुरी गाउँपालिका–६ बेल्खुमा र गल्छी गाउँपालिका–२ केउरेनीमा शव भेटिएका हुन् । दुवै शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।मंगलवार बिहानैदेखि त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ को त्रिशूली किनारमा जलाउँदै गरेको एउटा शव पनि नदीले बगाएको छ । शवदाहको बेला अकस्मात आएको बाढीले चितासहित शव बगाएको स्थानीय कुमार बस्नेतले जानकारी दिनुभयो ।

Leave a Reply