निजगढ,निजगढका २ वटा सामुदायिक वन समूहले आफ्नो समूहको वन क्षेत्रभित्र घरेलु हतियार लिएर प्रवेश गर्न रोक लगाएका छन ।निजगढ ९ को आदर्श सदावहार सामुदायिक वन उपभोक्ता समूह र बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा बन्चरो, दाउ, आरा जस्ता रुख र दाउरा कटानमा प्रयोग हुने घरेलु हतियार बोकेर प्रवेश गर्न रोक लगाएको हो ।

दुबै वन समूहले सार्वजनिक सूचनामार्फत हतियार लिएर वन प्रवेश गर्न नपाइने जनाएका छन । केही व्यक्तिहरुले अनाधिकृत रुपमा प्रवेश गरि रुखका लाथ्रा र काठ दाउरा काटने जस्ता कार्य गरेको भन्ने गुनासो आएपछि बोटबिरुवमा हानिनोक्सानी पुर्याउने कार्य नियन्त्रणको लागि घरेलु हतियार लिएर वन प्रवेश गर्न रोक लगाइएको आदर्श सदावहार वन समूहका अध्यक्ष रामकुमार श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनामा समूहका उपभोक्तबाहेक अन्यले दाउरा, घाँस र स्याउलासमेत संकलन गर्न र निकाल्न नपाइनेभन्दै उल्लघंन गर्नेमाथि नियमअनुसार कारबाही हुने पनि जनाइएको छ । त्यसैगरी बकैया ठाकुर वन समूहकी अध्यक्ष शान्ति पहरीले पनि एउटा सूचना निकालेर समूहको वनमा हातहतियार लिएर प्रवेश गर्न र गैह् उपभोक्तालाई वन क्षेत्रबाट दाउरा, घाँस, स्याउला संकलन गर्न रोक लगाइएको छ ।

वन समूहले जारी गरेको सूचनामा भनिएको छ– ‘यदि सूचनाको उल्लघन गरी वन क्षेत्रमा प्रवेश गरि वनमा हानी नोक्सानी पुग्ने गरि काठ, दाउरा, घाँस, स्याउला सकलन गरेको पाइए हतियार र वन पैदावारसमेत जफत गरि समुहको विधान र कार्ययोजना अनुसार कारबाही समेत गरिने चेतावनी दिइएको छ ।

 

Leave a Reply