कलैया,बारा प्रहरीले १० किलोग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगञ्ज खजानीबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले विशेष सूचनाका आधारमा मंगलबार लागूऔषध ओसारपसार कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बारा जिल्लाको पचरौता नगरपालिका– ३ ब्रह्मस्थानस्थित गंगानगरबाट डाटगाउँतर्फ जाँदै गरेको ना ५४ प ६१८६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल जाँच गर्ने क्रममा लागूऔषध गाँजा १० किलोग्राम (दुई पोका) बरामद गरिएको थियो ।

पक्राउ पर्नेमा जिल्लाको पचरौता नगरपालिका– ३ रामनगर बस्ने अन्दाजी ३३ वर्षीय राजकुमार कुशवाहा र सोही ठाँउमा बस्ने अन्दाजी २८ वर्षीय पुनदेव पटेल रहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिनुभएको छ । उहाँका अनुसार लागूऔषध गाँजासहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

Leave a Reply