निजगढ,बारासहित तराई-मधेशका जिल्लामा विगत पाँच दिनदेखि जारी शितलहर र ठण्डीका कारण आममानिसको जनजीवन प्रभावित बन्दैआएको छ ।लामो समयदेखि घाम नलाग्दा स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ भने किसानले रोपेका खाद्यान्न र तरकारी बालीमा समेत ठूलो नोक्सानी पुगेको छ ।
गत शनिबारदेखि रातदिन चिसो स्याँठ चलेर शीतलहर जारी रहँदा कठ्याङ्ग्रिँदो चिसो र पानी परेको जस्तै गरी शुरु भएको शीतलहरले सर्वसाधारणलाई घरबाहिर निस्कन मुस्किल परेको छ । चिसोले जिल्लाको ग्रामीण भेगमा बसोबास गर्ने दलित, विपन्न समुदायका मानिसहरुसंगै बालबालिका र वृद्धवृद्धाहरु सबैभन्दा बढी प्रभावित बनेका छन । जिल्लाको ग्रामीण भेगमा चिसोका कारण बिरामी पनि बढेका छन ।
चिसो बढ्दै जाँदा जिल्लाका अधिकांश पालिकाहरुमा विद्यालय बन्द गरिएका छन । परीक्षा सञ्चालन गरिरहेका र दुई÷चार दिनभित्रै परीक्षा सुरु गर्ने तयारीमा रहेका निजी विद्यालयहरु भने नियमित सञ्चालनमै छन् । जिल्लाको निजगढ, कलैया, कोल्हबी, बरियारपुर नगरपालिका र बारागढी, करैयामाई लगायतका गाउँ पालिकाहरुमा विद्यालय बन्द भएका हुन ।कठ्याङ्गिँ्रदो चिसो र शीतलहरले गर्दा सडकमा मानिसको चहलपहल पातलिँदो छ । अत्यावश्यक काम परेर यात्रा गर्नुपर्नेहरूले पनि यात्रा गर्न सकेका छैन । राजमार्ग र सडकमा अघिपछिको तुलनामा ठूला र साना सवारी साधन कम संख्यामा मात्रै गुडेका छन ।
निजगढ नगरपालिका– ९ का ऋतिक राईले चार दिनदेखि घाम नलागेर ठि¥याउँदो चिसो भइरहँदा दैनिकी असाध्यै प्रभावित बनेको बताउनुभयो । उहाँले यसअघिका वर्षहरुको तुलनामा यो यसपाला अत्याधिक जाडो महशुस भएको पनि बताउनुभयो ।चिसो छल्न मानिसले घर तथा चोक, बजारमा आगो बालेर ताप्ने गरिरहेका छन् । जिल्लाको दक्षिणी भेगमा नेपाली सेनाको टोली, डिभिजन वन कार्यालय बारा र जिल्लाको उत्तरी क्षेत्रमा सामुदायिक वन समूहले केही पालिकाहरुमा आगो ताप्ने दाउरा पनि वितरण गरेका छन । तर सिमित स्थानमा मात्र वितरण गरिएको दाउराले खासै राहत पुग्न सकेको छैन । जसले गर्दा दैनिक ज्याला मजदुरीमा निस्कनुपर्ने मजदुर र खेतबारीको काममा लाग्नुपर्ने किसान थप मारमा परेका छन् ।
कोल्हबी नगरपालिका– ९ रामसुरत चौधरीले निरन्तरको हुस्सु, कुहिरो र शीतलहरका कारण बालीनालीमा ठन्डीजन्य सङ्व्रmमण बढेको गुनासो गर्नुभयो । उहाँले रातदिन शीतलहर पर्ने गरेकाले तोरी, आलु, मुसुरो, चना, लहरी र तरकारी बालीमा औषधी छिट्नसमेत नपाएको र चिसोले गर्दा बोट बिरुवा मर्दै गएको बताउनुभएको छ ।
चिसोले जनजीवन प्रभावित हुन थालेपछि जिल्लामा विभिन्न सामाजिक सङ्घसंस्था र मनकारी व्यक्तिले विद्यार्थी तथा समुदायस्तरमा कपडा र कम्बल वितरण गर्न थालेका छन् । कलैया, जीतपुरसिमरा र निजगढ क्षेत्रमा न्यानो कपडा वितरण हुदैआएको हो ।चिकित्सकले चिसो असाध्यै बढेको र शीतलहर जारी रहेकाले सकेसम्म घरभित्रै न्यानो भएर बस्न, सावधानीपूर्वक आगो तथा हिटर ताप्न, झोलिला र ताजा खानेकुरा खान सुझाव दिँदै आएका छन् ।
चिसोका कारण सिराहामा वृद्धको मृत्यु
जनकपुरधाम,अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा बुधबार बिहान एक वृद्धको मृत्यु भएको छ ।
गोलबजार नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय शिवदयाल सदायको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हो । लामो समयदेखि मधुमेह र दम रोगबाट पीडित सदायको आफ्नै घरमा मृत्यु भएको उनकी श्रीमती फेकनी देवी सदायले जानकारी दिनुभयो ।विपन्न परिवारका सदायको घरमा न्यानो कपडा तथा जाडो छल्ने उचित व्यवस्था नहुँदा चिसो सहन नसकेर ज्यान गएको वडा सदस्य तनुकलाल महतोले बताउनुभयो ।
आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका सदायको मृत्युपछि अन्तिम संस्कारका लागि शव जलाउन आवश्यक दाउरा समेत नहुँदा नेपाली सेनाले दाउरा सहयोग गरेको छ ।केही दिनदेखि तराई क्षेत्रमा बाक्लो कुहिरो र चिसो हावाका कारण जनजीवन कष्टकर बन्दै आएको छ । चिसो बढेसँगै विपन्न तथा दलित बस्तीहरूमा न्यानो कपडा र आगो ताप्नका लागि दाउराको पनि अभाव देखिन थालेको छ ।



















