नरेश गुप्ता
बरियारपुर,प्रहरीले बाराको सिमरास्थित त्रिभुवन राजपथबाट अवैधरुपमा यात्रु बसभित्र लुकाइछिपाइ काठमाण्डौंतर्फ लैजादै गरिएको अवस्थामा बुधवार ५ बोरा पाउडर दुध बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यलय सिमराबाट खटिएको गस्ति टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित तराई यातायात संघको कार्यालय भवनअगाडिबाट वीरगन्जबाट काठमाडौंको लागि छुटेको ना.७ ख.४७५१ नम्बरको रात्री बसको डिकीमा राखेर लैजादै गरेको ७० हजार रुपैया मूल्य बराबरको १२५ केजी पाउडर दुध बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।
दुधको कुनै किसिमको बिल नभएको कारण नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरी चौकी अमलेखगञ्जबाट खटेको प्रहरीको टोलीले बेन्डिङ्ग रड र पट्टा बरामद गरेको छ । बिराटनगरबाट धनगढीतर्फ जाँदै गरेको ना.६ ख.१५२१ नम्बरको यात्रुबाहक बस चेक जाँच गर्दा बिल नभएको बेन्डीङ रड ७ प्याकेट १३० किलो बरामद गरेको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित अमलेखगञ्ज बजारमा चेक जाँच गर्ने क्रममा उक्त अवैध सामान बरामद गरिएको प्रहरीले बताएको छ ।
त्यसैगरी नारायणगढबाट वीरगन्जतर्फ आउदै गरेको ना.५ ख.६०६५ नम्बरको यात्रुबाहक बस चेक जाँच गर्दा सवारी अनलाईन बिलबिना नै ल्याइएको साधनमा प्रयोग हुने ५० हजार मूल्य बबराबरको पट्टा ५० पिस र ४० हजार रुपैया बराबरको रड बरामद गरिएको प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो ।
आवश्यक कारबाहीको लागि अवैध सामानहरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।