संघीय सरकारको बारेमा जे जे भनिए पनि स्थायित्वको विषयमा भने अहिलेका लागि कुनै समस्या देखिएको छैन । तर यो सवालमा मधेश प्रदेश सरकार जहिले पनि बद्नाम जस्तै छ ।मधेस प्रदेश सरकारमा नेकपा एमाले पनि सहभागी हुने भएपछि भने हालका लागि मधेश प्रदेश सरकारको भविष्यमाथि आइलागेको संकट टर्ने संभावना देखिएको छ । एमालेको आकस्मिक प्रवेशसंगै जसपा नेपाल भने सरकारबाट बाहिरिने भएको हो ।
शीर्ष नेतृत्वबिच भएको सहमतिको आधारमा एमाले मधेस प्रदेश मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो । हुन त् जसपाका कारण सरकार स्थिर नै थियो । तर, उसले साथ छाडेपछि भने समस्या देखिएपछि एमालेले साथ दिने देखिएको छ ।
एमालेबाट बिना विभागीय मन्त्रीमा बाराका मोहम्मद समिर मधेस सरकारमा सहभागी हुने भएपछि हालका लागि मधेश सरकारको भविष्य सुरक्षित छ । तर मधेशमा सरकारका लागि धेरै चलखेल हुने गरेका छन्, जसका कारण मधेश प्रदेश एकदमै बद्नाम बन्दै गइरहेको छ ।
सरकार भनेको प्राविधिक कुरा हुनु पर्ने हो तर सत्ताका लागि जे पनि गर्ने र जे पनि हुने कुराले मधेशलाई कमजोर बनाइरहेको छ र यसैका कारण संघीयता पनि कमजोर हुदैगइरहेको छ ।मधेश कमजोर हुनु भनेको पनि संघीयता कमजोर हुनु नै यो विषयमा ख्याल गर्न अति आवश्यक छ । आफ्नो स्वार्थका लागि देश वा मधेश नै ध्वस्त बनाउने सोच बनाउने कुरा घातक हो । यस्तो सोचले अन्ततः कसैलाई फाइदा गर्दैन । त्यसैले कम्तीमा पाँच बर्षको स्थायी सरकार मधेशमा पनि आवश्यक छ र यस्तै खालका दल र पार्टीलाई अब जिताउनु पर्दछ ।
















