निजगढ,विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो र शीतलहरका कारण निजगढ नगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयहरूमा थप दुई दिन बिदा दिने निर्णय गरेका छन ।
निजगढ नगरपालिकाको कार्यालयले आइतवार बिहान एक सूचना जारी गर्दै विद्यार्थीहरूको स्वास्थ्य र प्रतिकूल मौसमलाई मध्यनजर गर्दै बिदा थप गरिएको जानकारी दिएको हो ।
यसअघि पुस ९ गतेदेखि ११ गतेसम्म बिदा दिइएकोमा चिसो नघटेपछि पुनः पुस १३ र १४ गते दुई दिन बिदा थप गरिएको हो । थप गरिएको बिदा विद्यालयहरूको वार्षिक वर्षे बिदाबाट कट्टा हुने गरी मिलान गरिने सूचनामा उल्लेख छ ।
नगरपालिकाले सबै विद्यालय प्रशासनलाई उक्त निर्णय पालना गर्न र विद्यार्थीहरूलाई चिसोबाट जोगिन आग्रहसमेत गरेको छ ।त्यसैगरी चिसो बढेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यालयमा दिइएको बिदा थप गरेको छ ।
उपमहानगरपालिकाले पुस १३ र १४ गते बिदा थप गर्ने निर्णय गरेको हो ।
यसअघि पुस ११ गतेसम्म विदा दिने निर्णय गरेको उपमहानगरपालिकाले चिसोसंगै शितलहर हुन थालेपछि बिदा थप गरेको नगर प्रमुख राजन पौडेलले जानकारी दिनुभयो ।मौसमका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले वर्षे बिदाबाट कट्टा हुने गरी बिदा थप गरिएको उपमहानगरले जनाएको छ ।

















