कोल्हबी,दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै बाराको कोल्हवीमा शुक्रवार स्थानीयले राँके जुलुस प्रदर्शन गरेका छन ।

कोल्हवी नगरपालिकाको क्षेत्रमा निर्माण हुन लागेको विमानस्थल सर्वोच्च अदालतले रोकेपछि असन्तुष्ट बनेका स्थानीयले विरोधमा राँके जुलुसको आयोजना गरेका हुन ।

कोल्हबी सरोकार समितिको आयोजनामा सयौंको उपस्थितिमा भएको जुलुस प्रदर्शन कोल्हवी मनकामना चोकदेखि बजार परिक्रमा पछि बजारको मुख्य चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभामा बोल्दै संघर्ष समितिका संयोजक ढुण्डिराज उप्रेतीले विमानस्थल निर्माण गर्न अदालतको फैसला पुनरावलोकन गराउन आन्दोलनमा उत्रिनु परेको बताउनुभयो । उहाँले त्यसको लागि जनदवाव आवश्यक भएको र आन्दोलनमा सबै नागरिकको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।

सभामा बोल्दै युवा नेता राजेन्द्र मैनालीले विमानस्थल निर्माणमा सबै दलले चासो देखाउन पर्ने बताउनु भएको छ । कोण सभाकै क्रममा आफ्नो धारणा राख्दै संघर्ष समिति जनसरोकार समितिका संयोजक रसिक सुवेदीले विमानस्थल निर्माणको लागि बारा जिल्लाबासीले जस्तो सुकै कदम चाल्नु परे पनि पछि हटन नहुने बताउनुभयो । उहाँले विमानस्थल निर्माण सम्बन्धि सर्वोच्चको फैसला नसच्याइएसम्म आन्दोलन जारी राख्नुपर्ने युवा नेता सुवेदीले बताउनुभयो ।

त्यसैगरी विमानस्थल नबनाउन भनेर सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा निजगढस्थित शहिद चोकमा हिजो पनि धर्ना र प्रदर्शन भएको छ । विमानस्थल निर्माणको माग गर्दै आन्दोलनरत स्थानीयले शुक्रवार ९ औं दिन पनि आन्दोलन जारी राखेका हुन ।

निजगढ सरोकार समिति र स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार समितिको सयुक्त आयोजनामा चक्काजाम र धर्ना भएको हो । चक्काजामका कारण पूर्वपश्चिम राजमार्गमा दर्जनौं सवारीसाधनका यात्रु र ढुवानीका साधन अलपत्र परेका थिए । धर्नामा सहभागीहरूले सर्वोच्चको निर्णय फिर्ता गर, विकासप्रेमी जनता एक हौं, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए । उनीहरूले सर्वोच्च अदालतको आदेश पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । सर्वोच्चको आदेश दुर्भाग्यपूर्ण भएकाले खबरदारी स्वरुप आफूहरूले प्रदर्शन गरेको सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here