वीरगञ्ज,मालपोत कार्यालय वीरगञ्जका अधिकृत सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अधिकृत हरिनारायण मिश्रसहित ६ जना विरुद्ध ४ लाख बढी राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।अधिकृत मिश्र, मालपोत अधिकृत सनदकुमार द्वीवेदी, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारी, कम्प्युटर अधिकृत कमोद तिवारी, नायब सुब्बा रामेश्वरप्रसाद साह र लेखनाथ भट्टराईले ४ लाख २५ हजार ४३१ रुपैयाँ राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।उनीहरु सबै मिलेर फाँट “क” बाट १७ वटा र फाँट “ग” बाट २ वटा लिखतहरु पारित गर्दा लाग्ने राजस्व निर्धारण गर्दा आफूले पूरा गर्नुपर्ने तोकिएको दायित्व र जिम्मेवारी पूरा नगरी बदनियतपूर्वक गरेको कार्यबाट ४ लाख २५ हजार ४३१ रुपैयाँ राजस्व चुहावट भएको देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।उनीहरुमाथि जरिवाना हुन मागदावी लिई बुधवार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता दाहालको भनाइ छ ।

Leave a Reply