वीरगञ्ज,भारतको राँचीबाट रक्सौल भएर नेपाल आउने आमा छोरा रेलमै कुटिएका छन् । नेपालको धादिङ्ग जिल्लाको त्रिशूली देवीघाट पुर्खौली घर भई हाल भारत राँचीमा बस्ने संगीताकुमारी प्रधान र उहाँका छोरा इन्द्रजीत सिंहलाई रेलमै अज्ञात युवकको समूहले कुटपिट र लुटपात गरेको हो ।

राँचीबाट हैदराबादको रेलमा चढेर आउँदै गर्दा झाझा भन्ने ठाउँबाट रेलमा चढेका ८÷१० जना युवकले कुटपिट गरी मोबाइल र नगद तीन हजार रुपैयाँ लुटेर लगेको आमा संगीताकुमारी प्रधानले बताउनुभयो । नेपाली नागरिक देखेर गालीगलौजसँगै कुटपिट गरेको उहाँले सुनाउनुभयो । रेलमा सुरक्षा व्यवस्था नभएको भन्दै उहाँले आक्रोश समेत पाख्नुभयो । रेलमा सुरक्षाकर्मी नहुँदा आफूहरु लुटिन र कुटिन परेको उहाँको गुनासो छ ।

बरौनीमा आएर जीआरपीलाई गुनासो गर्नका लागि उत्रिदा रेल छुट्ने डरले आफूहरु रक्सौलमा उत्रिएर गुनासो गरेको उहाँको भनाई छ । उहाँका पती त्रिभुवन सिंह राँचीको थाना डोरंडामै हुनुहुन्छ । कुटपिटबाट आमा र छोरा दुबैलाई चोट लागेको छ ।रक्सौलमा आएपछि एक जना टिटी एस कुमारले सहयोग गरेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार टिटी एस कुमारले एसी क्याबिन (बगही) मा लिएर राखेपछि केही राहत र सुरक्षित महसुस भएको उहाँले सुनाउनुभयो ।
सामान्य घाइते दुबैको रक्सौलस्थित अनुमण्डल अस्पतालमा रक्सौल प्रहरीले नै उपचार गराएको र रक्सौल प्रहरीले जिरो एफआइआर (मुद्दा दर्ता) गरेर झाझा प्रहरीलाई पठाएको बताइएको छ ।कुटपिट गर्ने समूहका एक जनाको अनुहार भिडियोमा कैद भएको र सोही आधारमा खोजी गरेर आवश्यक कारबाही गर्ने रक्सौल प्रहरीले जनाएको छ ।

Leave a Reply