मनोज शाह
जीतपुर,फुटपाथमा राखिइएका पसल हटाउनुपर्ने माग गर्दै बाराको जीतपुर बजारका सटर व्यवसायीहरूले त्रिभूवन राजपथमा आज एक घण्टासम्म चक्काजाम गरेका छन ।व्यवसायीको अवरोधका कारण पथलैया–वीरगन्ज व्यापारिक मार्गमा गुड्ने सवारी साधन प्रभावित बनेको थियो ।घर भाडामा लिएर सटरमा पसल गर्ने व्यवसायीहरुले फुटपाथका पसल हटाउन माग गर्दै राजमार्ग नै बन्द गरेपछि जीतपुरका ठूला र साना व्यवसायीहरुबीचको विवाद सतहमा आएको हो ।

स्थानीय सटर व्यवसायी रिना बजगाईंले आफूहरुले बुझाएको ज्ञापनपत्रको समयसीमाभित्र पसल हटाएर सर्भिस लेन खाली नगरिएपछि विरोधस्वरुप सडक अवरुद्ध पार्नुपरेको बताउनुभएको छ । फुटपाथ पसलका कारण सरकारको राजश्व गुमेको र बजार क्षेत्रको सौन्दर्यसमेत बिग्रेको उहाँको भनाई छ । उहाँले सटर व्यवसायीहरूले राज्यलाई नियमित रूपमा कर, घरधनीलाई भाडा तथा अन्य राजस्वसमेत तिर्दै आएको तर फुटपाथ व्यवसायीहरुका कारण आफूहरुको व्यापारमा असर परेको बताउनुभयो । ‘हामी सरकारलाई सबै प्रकारका कर तिर्छौं, नियम पालना गर्छौं तर फुटपाथमा बसेर व्यापार गर्नेहरूले कसैलाई केही पनि तिर्दैनन्, उहाँले भन्नुभयो, फुटपाथ व्यापारले व्यवसायीहरु मात्रै होइनन, राजश्व चुहावट र बजार क्षेत्रलाई पनि अव्यवस्थित बनाएको छ ।’ जीतपुरलाई सफा र सुन्दर बनाउन फुटपाथ व्यवसाय हट्नुपर्ने उहाँको भनाई छ ।

व्यवसायी सडकमा उत्रिएपछि ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवाकर गणेशको नेतृत्वमा पुगेको प्रहरी टोलीले अवरुद्ध सडक खुलाएको थियो । व्यवसायीको मागका विषयमा सम्बन्धित निकायसंग बसेर छलफल गर्ने आश्वासन दिँदै प्रहरीले सडक खुलाएको हो । प्रहरीको अनुरोधपछि व्यवसायी सडक छोड्न राजी भएका थिए ।
यता फुटपाथमा पसल संचालन गर्दैआएका व्यवसायीहरुले भने वैकल्पिक व्यवस्था भएमा आफूहरु अन्यत्र जान तयार रहेको बताएका छन । फुटपाथमा बसेर जुत्ता–चप्पल सिलाउने व्यवसाय गर्दै आएका राहुल चमार आफूहरू गरिब र असहाय भएकाले यही व्यवसायबाट परिवारको गुजारा चलाउदै आएको बताउनुहुन्छ । “हामी फुटपाथ छोड्न पनि तयार छौं, चमारले भन्नुभयो, तर वैकल्पिक स्थानको व्यवस्था गरिदिनुपर्छ ।’ अन्यत्र कतै व्यवस्थित स्थान दिइयो भने आफूहरु फुटपाथमा नबस्ने उहाँको भनाई छ ।

त्यस्तै फुटपाथ व्यवसायीहरूले सटर व्यवसायीहरूले नियमविपरीत पसलबाट पाँच हातसम्म बाहिर सामान राखेर बिक्री गर्दा कुनै कारबाही नगरिएको तर आफूहरू नालाको छेउमा सानो पसल राखेर व्यापार गर्दा प्रशासन र सटर व्यवसायी दुवैबाट धम्की आउने गरेको गुनासो गरेका छन ।अर्का फुटपाथ व्यवसायी शम्भु शाहले ३०–३५ वर्षदेखि फुटपाथमै व्यापार गर्दै आएको बताउँदै अहिले आएर हटाउन गरिएको प्रयास अन्यायपूर्ण भएको बताउनुभएको छ । उहाँले पनि अन्यत्र कतै पसल राख्ने स्थान दिएमा आफूहरु फुटपाथ छोड्न तयार रहेको जनाउनुभएको छ ।
त्यसैगरी व्यवसायीहरुले सडक नै अवरुद्ध पारेर गरेको आन्दोलनप्रति स्थानीयहरुले भने फरक फरक प्रतिक्रिया जनाएका छन ।

उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मनोज गुप्ताले सटर र फुटपाथ दुवै पक्ष व्यापारी नै भएको उल्लेख गर्दै संवादबाटै समाधान निकाल्नुपर्ने बताउनुभयो । ‘दुवै पक्षलाई एकै ठाउँमा राखेर छलफल गरी दीर्घकालीन समाधान खोज्नुपर्छ ।’ गुप्ताले भन्नुभयो ।स्थानीय युवा सुनिल शाहले भने फुटपाथ व्यवसायी हटाउनका लागि मुख्य सडक नै बन्द गर्नु जरुरी नभएको बताउनुभयो । ‘जीतपुरमा पसल गर्ने सबै व्यापारी नै हुन, धनी–गरिबको कुरा नगरी सहमतिमा दुवै पक्षलाई मिलाएर समाधान खोज्नुपर्छ ।’ उहाँले भन्नुभयो ।

सटर व्यवसायीहरुको आजको आन्दोलनबाट विगत केही वर्षदेखिबाट सामान्य रुपमा चल्दै आएको फुटपाथ र सटर व्यवसायीबीचको विवाद अब भने चर्किनसक्ने भन्दै स्थानीयले चिन्ता जनाएका छन ।
यसैबीच सटर व्यवसायी आन्दोलनमा उत्रिएपछि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले आइतबार दिउँसो विज्ञप्ति जारी गरेर जीतपुर बजार क्षेत्रको सडक उपमहानगरको स्वामित्वभित्र नभई संघीय सरकार मातहत रहेको उल्लेख गर्नुभएको छ ।संघीय सडक भएपनि उपमहानगर क्षेत्रभित्र भएकाले उक्त सडक अन्तर्गतको सार्वजनिक आवागमन, ट्राफिक व्यवस्थापन, बजार अनुशासनमा काम गरिरहेको उल्लेख गर्दै नगर प्रमुख पौडेलले सडक, फुटपाथ, सार्वजनिक स्थल अतिक्रमण नगर्न अनुरोध गर्नुभएको छ ।

उहाँले सार्वजनिक सडक र स्थानको अतिक्रमण हटाउन, ट्राफिक व्यवस्थापन गर्न तथा सडक सुरक्षाको पालना गराई सहज रुपमा सडक यातायात संचालन गराउन संघीय सरकार र मातहतका कार्यालय, व्यवसायी, नागरिक र सरोकारवालासंग अनुरोध समेत गर्नुभएको छ ।

Leave a Reply