सिकिन्द्र साह
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर २, मउवही टोलका स्थानीयवासी दुई महिनादेखि खानेपानी अभावको समस्या झेल्दैआएका छन । नगरपालिकाले करिब दुई महिनाअघि जडान गरेको बोरिङ हालसम्म पनि सञ्चालनमा नआउँदा स्थानीयले शुद्ध पिउने पानीको अभाव बेहोर्नु परेको हो ।

उक्त खानेपानी योजना स्थानीय अगुवा परमानन्द मुखियाको पहलमा जडान गरिएको भए पनि सुरुवाती चरणमै मेसिनरी समस्याका कारण बन्द रहेको छ। परमानन्द मुखियाका अनुसार प्राविधिक गडबडीकै कारण बोरिङ सञ्चालनमा आउन नसकेको हो। “केही दिनमै मर्मत सम्पन्न गरी पुनः सञ्चालनमा ल्याइनेछ,” उहाँले भन्नुभयो ।
तर, स्थानीय बासिन्दाहरू भने खानेपानी समस्याबाट निकै आक्रान्त बनेकाछन । स्थानीय राजु गुप्ताका अनुसार वडाअध्यक्ष अरविन्द मुखियाले नयाँ योजना संचालनमा आउन नसकेको र पहिले सञ्चालनमा रहेका बोरिङसमेत जीर्ण अवस्थामा पुगेकोले समस्या थप बढेको बताएको जनाउनुभएको छ । उहाँका अनुसार नगरपालिकाले नयाँ योजनाको नाममा पुरानो बोरिङको मर्मत नगरी समस्यालाई झन् जटिल बनाइदिएको छ।
वडाअध्यक्ष मुखियाले नगर प्रमुखलाई नै यसको समाधानको जिम्मेवारी लिन आग्रह गर्नुभएको छ । “नगरपालिकाले आफ्ना नजिकका व्यक्तिहरूलाई योजना बाँडफाँट गरेर सञ्चालन गराएको देखिन्छ। यो समस्या समाधान गर्न नगर प्रमुखले नै पहल गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
स्थानीय रामप्रसाद गुप्ता, मुना गुप्ता र उमेश यादवले खानेपानी अभावका कारण टाढा–टाढा पुगेर पानी ल्याउनु परेको गुनासो गर्नुभयो । “समतल भूमि हुँदाहुँदै पनि पानी अभावमा पहाडी क्षेत्रका बासिन्दाजस्तो कठिन जीवन बिताउन बाध्य भएका छौँ,” रामप्रसाद गुप्ताले भन्नुभयो ।
पुरानो बोरिङ बिग्रिएपछि स्थानीयहरूले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराए पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन । “न जनप्रतिनिधिले सुने, न प्रशासनले। अब हामी हाम्रो समस्या लिएर कहाँ जाने ?” अर्का एक स्थानीयहरूले प्रश्न गरेका छन्।स्थानीय बासिन्दाहरूले खानेपानी समस्या यथाशीघ्र समाधान गर्न आग्रह गर्दै नगरपालिकाको ध्यानाकर्षणसमेत गराएका छन्।


















