वीरगन्ज,कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि पर्साको जिल्ला संकट व्यावस्थापन केन्द्रको बैठक आइतबार सम्पन्न भएको छ । बैठकले विभिन्न निर्णयहरु पनि गरेको छ । छिमेकी मुलुक भारतमा कोभिड–१९ कोरोनाको दोस्रो लहर बढेसंगै नेपालमा पनि कोरोनाको संक्रमित बढ्दै गएको र देशकै प्रमुख प्रवेशद्वार वीरगन्ज सबैभन्दा जोखिम भएकोले पूर्वतयारीका साथ सतर्कता अपनाउनका लागि विभिन्न निर्णयहरु गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो । वीरगन्ज मुख्य नाका भएकोले यो क्षेत्र कोरोना संक्रमणको उच्च जोखिममा रहेको बिगतको घटनाले नै प्रमाणित भैसकेको अवस्थामा वीरगन्ज लगायत पुरै पर्सा जिल्लालाई संक्रमणको जोखिममा पर्न नदिन जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बसेको हो । वीरगन्ज महागनरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी सहित पर्सा जिल्लाका विभिन्न पालिकाका प्रमुखहरु, गैरसरकारी संस्थाका प्रतिनिधि, चिकित्सक र सुरक्षा निकायका प्रमुखहरु विभिन्न राजनीतिक पार्टी अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितमा बृहत छलफल गरेर निर्णयहरु गरिएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख सरावगीले जानकारी दिनुभयो ।
बैठकले २५ जना भन्दा बढी मानिसहरु एक ठाउँमा भेला हुन नदिने, नेशनल मेडिकल कलेजले कोरोनाकालामा संचालन गरेको १७० बेडको कोरोना अस्पताललाई सुचारु गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने, अन्य विभिन्न निजी अस्पतालहरुले कोरोनाका केही बिरामीहरुको लागि छुट्टै बेडको व्यवस्था गरेर राख्ने, भारतबाट लामो बसाइ बसेर आएका व्यक्तिहरुलाई कम्तीमा १० दिन क्वारेन्टाइन बस्ने व्यावस्था गर्ने,. मुख्य भन्सारमा भारतबाट आएका व्यक्तिहरुलाई नाकामा नै ज्वरो मापन गर्ने, एन्टिजेन टेस्ट गर्ने, बैठकले गरेका निर्णहरु प्रभावकारी कार्यान्वयनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने, प्रत्येक स्थानीय तहले आइशोलेसन र क्वारेन्टिनको व्यवस्थापन गर्ने, होटलहरुलाई पनि आइशोलेसनको रुपमा प्रयोग गर्न सकिने, राति ९ बजेपछि कुनै पनि पसल बजारहरु खोल्न नदिने र घरबाहिर निस्किदा अनिवार्य रुपमा मास्क र सेनीटाईजरको प्रयोग गर्ने, मास्क नलगाएका र जनस्वास्थ्य मापदण्ड नअपनाएका व्यक्तिलाई संक्रामक ऐन अनुसार कारवाही गर्ने समेत निर्णय गरेको छ । यसैबीच पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३१२५ जनामा गरिएको परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ । पछिल्लो २४ घण्टामा १४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन् । आइतबारसम्म कोरोना भाइरसको सक्रिय संक्रमित २९६१ जना रहेका छन् । कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार ४० पुगेको छ ।