रौतहट – खुला सीमाको फाइदा उठाउँदै भारतबाट भइरहेको बोइलर कुखुराको अवैध आयातले रौतहटका स्थानीय कुखुरापालक किसान तथा व्यवसायी मर्कामा परेका छन् । अवैध आयात तत्काल नियन्त्रण नगरिए कुखुरा व्यवसाय नै धरापमा पर्ने र हजारौँ किसानको लगानी डुब्ने चेतावनी व्यवसायीहरूले दिएका छन् ।
जिल्ला कुखुरा व्यावसायिक किसान सङ्घका अनुसार रामपुरखाप, बंकुल, नरकटिया, खापघिउरा र मोतिपुर मट्सरीलगायत सीमावर्ती नाकाबाट दैनिक ठूलो परिमाणमा भारतीय कुखुरा नेपाल भित्र्याउने गरिएको छ । सीमा क्षेत्रका नेपाली फार्ममा राखेर स्वदेशी उत्पादनको नक्कली बिल बनाई बजारमा पठाउने गरिएको दाबीसमेत किसानहरूले गरेका छन् ।
सङ्घका सचिव राधेश्याम साहका अनुसार दाना र औषधिको मूल्य बढेका कारण नेपालमा कुखुरा उत्पादन लागत प्रतिकिलो २५० देखि २६० रुपैयाँसम्म पुगेको छ । भारतबाट सस्तो मूल्यमा आउने कुखुरासँग प्रतिस्पर्धा गर्नुपर्दा नेपाली किसानले उत्पादन लागतसमेत उठाउन नसकेको उहाँले बताउनुभयो ।
अवैध रूपमा भित्र्याइने कुखुराको क्वारेन्टाइन तथा स्वास्थ्य परीक्षण नहुँदा पशुपन्छीजन्य रोग फैलिन सक्ने जोखिमसमेत बढेको किसानहरूको भनाइ छ । यसले स्थानीय कुखुरा व्यवसायसँगै उपभोक्ताको स्वास्थ्यमा समेत असर पार्न सक्ने किसानहरुको भनाइ छ । तस्करी नियन्त्रणको माग गर्दै किसानहरूले ज्ञापनपत्र बुझाउने, धर्ना दिने र अनसन बस्नेसम्मका आन्दोलन गरे पनि समस्या समाधान हुन नसकेको सङ्घले जनाएको छ । किसानहरूले सीमा क्षेत्रमा हुने तस्करीको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले सीमा क्षेत्रको वास्तविक अवस्था बुझेर तस्करी रोक्न आवश्यक कदम चालिने बताउनुभएको छ । भारतीय कुखुराको अवैध आयात नरोकिए स्थानीय उत्पादनको बजार गुम्ने, किसानको लगानी जोखिममा पर्ने र रोजगारीमा समेत असर पर्ने व्यवसायीहरूले बताएका छन् ।
















