वीरगञ्ज  – वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तारको काम आगामी सोमबारसम्म सम्पन्न गरिने भएको छ ।
सडक सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम पनि तीव्र गतिमा भइरहेको सडक डिभिजन कार्यालय हेटौँडाले जनाएको छ । सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादका अनुसार अहिले सिद्धार्थ बैंक, पमपम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको छ । यसअघि सडक विस्तारका क्रममा घरधनीले आंशिक रूपमा मात्रै संरचना भत्काएका कारण अधुरा रहेका संरचना पनि हटाउन थालिएको उहाँले बताउनुभयो ।

त्यस्तै, घण्टाघरदेखि माइस्थान चोकसम्मको सडकखण्डमा केही भवन सडकको मध्यबिन्दुबाट कायम हुनुपर्ने दूरीका विषयमा अन्योल देखिएपछि पुनः नाप जाँच गरिने भएको छ । उक्त नाप जाँचको कामसमेत एक साताभित्र सम्पन्न गर्ने योजना रहेको प्रसादले जानकारी दिनुभयो । ‘आउँदो सोमबारसम्म मुख्य सडक विस्तारसम्बन्धी सम्पूर्ण काम सक्ने लक्ष्यसहित काम भइरहेको छ,’ उहाँले भन्नुभयो । सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौँडाले सुरुमा उत्तरतर्फ गण्डक क्षेत्रबाट र त्यसपछि दक्षिणतर्फ मितेरी पुलबाट एकैसाथ आधा दर्जनभन्दा बढी डोजर परिचालन गरेको थियो ।

डिभिजन कार्यालयले पहिलो चरणमा गत वैशाख ६ र ७ गते मुख्य सडक क्षेत्रमा करिब १ हजार २ सय घर तथा भवनमा डोजर चलाएको थियो । त्यस क्रममा अधिकांश संरचनाको अगाडिको भाग हटाइएको थियो । सडक सीमाभित्र परेका संरचना सम्बन्धित घरधनीलाई २५ दिनभित्र आफैँ हटाउन आग्रह गरिएको थियो । तोकिएको समयसीमा सकिँदासमेत धेरै संरचना यथावत् रहेपछि सडक डिभिजनले दोस्रो चरणको अभियान अघि बढाएको हो । दोस्रो चरणमा बाँकी रहेका संरचना हटाउने तथा सडक विस्तारका क्रममा देखिएका प्राविधिक समस्या समाधान गर्ने काम भइरहेको कार्यालयले जनाएको छ ।

Leave a Reply