वीरगञ्ज – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालेन शाह नेतृत्वको वर्तमान सरकारप्रति जनताको ठूलो अपेक्षा भए पनि सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाउनुभएको छ । वीरगञ्जमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजकसमेत रहनुभएका नेपालले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका क्रममा सरकारले बेपत्ताको खोजी तथा उद्धारमा ढिलाइ गरेका कारण थप जनधनको क्षति भएको दाबी गर्नुभयो ।
‘देश अहिले विपत्तिमा छ । हिमाली सुनामीका कारण ठूलो जनधनको क्षति भएको छ,’ नेपालले भन्नुभयो, ‘खोजी कार्यमा सरकारले पर्याप्त ध्यान दिन सकेको छैन । समयमै भारत र चीन सरकारको सहयोग लिन सक्नुपथ्र्यो । त्यसैले भोटेकोशी बाढीका क्रममा सरकार धेरै ठाउँमा चुकेको छ ।’ संविधानको रक्षा, संघीयता र समावेशिता जोगाउन परिवर्तनकारी शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको बताउनुभएको हो ।
अहिले लोकतन्त्र, संघीयता, समावेशिता लगायतका संवैधानिक अधिकार कटौती हुने खतरा बढ्दै गएको भन्दै उहाँले त्यसको रक्षाका लागि परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्ने बताउनुभयो । ‘संविधान सामान्य परिवर्तनबाट आएको होइन, अहिले हामीलाई संविधान जोगाउने चिन्ता छ,’ उहाँले भन्नुभयो, ‘मुख्य कुरा संघीयता र समावेशिता जोगाउने चिन्ता हो । जनताले सुशासनको महसुस गर्न पाइरहेका छैनन् । त्यसैले परिवर्तनकारी शक्ति एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन ।’
पूर्वप्रधानमन्त्री नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकता सम्भव नरहेको स्पष्ट पार्दै मुलुकको समृद्धि र विकासका लागि सबै कम्युनिष्ट पार्टीबीच कार्यगत एकता भने आवश्यक रहेको बताउनुभयो । उहाँले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने मागसमेत गर्नुभयो ।
समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेल, नेकपा पर्साका सह–इन्चार्ज मनोज चौधरी, जिल्ला संयोजक जयप्रकाश थारु, गंगा खड्का, बाबुराम कौशिक, केन्द्रीय सदस्य किशोरी कुशवाहा लगायतकाको पनि उपस्थिति थियो ।

















