मनोज शाह
जीतपुर,आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बारा जिल्ला क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेस पार्टीका उम्मेदवार श्यामबाबु गुप्तालाई जीतपुरका बोलबम तीर्थयात्रुहरुले आर्शिवाद दिएका छन ।बोलबम यात्राको लागि भारतको प्रयागराज जाने क्रममा १ महिनादेखि जीतपुरसिमरा उद्योग बाणिज्य संघको भवन अगाडि खुल्ला चौरमा बस्दै आएका २५ जना श्रद्धालु यात्रुहरुलाई उम्मेदवार गुप्ताले गम्छा ओढाएर सम्मान गरेपछि उनीहरुले पनि आगामी निर्वाचनमा सफलताको लागि गुप्तालाई शुभकामना र आशीर्वाद दिएका हुन ।
जिल्लाका बोलबम भक्तजनहरुले हरेक वर्ष प्रयागराजबाट जल ल्याएर बाराको काँटघाटस्थित सहजनाथ महादेव मन्दिरमा चढाउने गरेका छन ।बाबाहरूसँग आशीर्वाद लिँदै उम्मेदवार गुप्ताले समाजका सबै जातजाति, धर्म र संस्कृतिलाई सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले बाबाहरूको आशीर्वादले आफूलाई थप ऊर्जा र जिम्मेवारीवोध गराएको बताउँदै, सबैको साथ र विश्वासले मात्र समृद्ध क्षेत्र निर्माण सम्भव हुने धारणा राख्नुभएको थियो ।


















