निजगढ,निजगढ प्रहरीले चेक अनादर मुद्दामा फरार रहेका निजगढ नगरपालिका वडा नम्बर ८ घर भएका तिलकबहादुर राउतको छोरा अन्दाजी वर्ष ४० को मोहनबहादुर राउतलाई पक्राउ गरेको छ ।प्रहरीले पर्साको ठोरी गाउँपालिका वडा नम्बर १ दिपनगर टोलमा डेरा गरी लुकीछिपी बस्दै आएको अवस्थामा राउतलाई पक्राउ गरेर आवश्यक कारबाहीको लागि कास्की जिल्ला अदालत पोखरा पठाएको छ ।
जिल्ला अदालत कास्कीले चेक अनादर सम्बन्धि मुद्दामा जिल्ला अदालत कास्कीले गत असार २१ गते बिगोबापत २ वर्ष कैद फैसला सुनाएपछि राउत फरार बनेका थिए । राउतलाई हेटौडा हुदै सडक मार्गबाट कास्की जिल्ला अदालत पोखरा पठाइएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो ।त्यसैगरी नागरिकता मुद्दामा अदालतबाट जरिवाना पाएका पाँच जना प्रतिवादीहरुलाई बारा प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका– ५ बस्ने शिवगोबिन्द महरा, उदयनारायण सिंह चनौ, सत्यनारायण यादव, रामचन्द्र महतो कोईरी र अच्छेलाल राउत रहेका छन्।
पक्राउ परेकाहरुलाइ अदालतले नागरिकता मुद्दामा पाँच हजार जरिवाना तोकेकोमा फरार रहदै आएका थिए ।
ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले लुकिछिपि बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।

















