कोल्हबी,बाराको कोल्हवी नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय राजेश साह, २९ वर्षीय नागेन्द्र साह र २२ वर्षीय ज्ञानेन्द्र राम रहेका छन् ।
इलाका प्रहरी कार्यालय कोल्हवी बारा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्जबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले कोल्हबी नगरपालिका वडा नम्बर १ स्थित निजगढको तामागढीबाट श्रीपुरतर्फ आउँदै गरेको प्र.२–०३–००५ प ६३१२ नम्बरको टीभीएस मोटरसाइकल रोकी जाँच गरेको थियो । चेक जाँचको क्रममा उनीहरुको साथबाट लागूऔषध बरामद भएको प्रहरीको भनाई छ ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उक्त मोटरसाइकल जाँच गर्दा सवार राजेश साहको साथबाट चार सय ६० ग्राम लागूऔषध बरामद भएको हो ।बरामद लागूऔषध, मोटरसाइकल र पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















