आरके चौधरी
सखुवापर्सौनी,पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ मा संचालित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डोकैला बहुवरीको ८ कोठे विद्यालय भवनको सोमवार उद्धघाटन गरिएको छ ।जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन साह सोनार र बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंहासन साह तेलीले संयुक्त रुपमा विद्यालय भवन उद्धघाटन गरेका हुन ।आर्थिक वर्ष ०७९÷०८० मा जिल्ला समन्वय समिति पर्साको ५५ लाख र बहुदरमाई नगरपालिकाको ४८ लाख गरी कुल १ एक करोड ३ लाखको लागतमा ८ कोठे भवनको निर्माण गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साका सभापति साह सोनारले शिक्षाको स्तरवृद्धि गर्न भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखी उक्त विद्यालयमा भवन निर्माणको लागि चालु आर्थिक वर्षमा थप १ करोड रुपैया सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।गुणस्तरीय शिक्षा कायम गर्न विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीको विद्यालयप्रति सकारात्मक धारणाको विकास हुनुपर्ने उहाँको भनाइ छ ।यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तफाले पालिकाबाट विद्यालयको लागि सबै खालको सेवा सुविधा उपलब्ध गराउन आफूहरु प्रतिवद्ध रहेको उल्लेख गर्दै सामुदायिक विद्यालयबाट अपेक्षा गरेअनुसारको सीकाइ उपलब्धि हासिल नभएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । शिक्षा क्षेत्रमा गुणस्तरीयता कायम गर्न आवश्यकताअनुसार शिक्षक हेरफेर र अन्य गतिविधि संचालन गर्न खोज्दा पालिकामाथि राजनीतिक हस्तक्षेप पर्ने गरेको उहाँको गुनासो थियो ।कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उपसभापति पुरनप्रसाद पटेल, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय समाजसेवी, सुरक्षाकर्मी र सन्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।कार्यक्रममा विद्यालय भवन निर्माणको लागि जग्गा दान गर्ने दाताहरुलाई दोसल्ला ओढाएर सम्मान गरिनुको साथै जग्गादाताको प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । सोही कार्यक्रममा विद्यालयका ५ जना पूर्वप्रधानध्यापकहरुलाई पनि सम्मान गरिएको छ


















